महामारीलाई वेवास्ता गर्दै भारतीय सीमा नजिक किनमेल गर्ने नेपालीको घुइँचो

कैलाली । कोरोना भाइरसको ग्राफ निरन्तर उकालो लागे पनि भारतीय सीमा नजिकका बजारमा किनमेल गर्ने नेपालीको घुइँचो अझै छ । त्रिनगर–गौरीफन्टा नाका भएर मात्रै कैलाली कञ्चनपुरका दैनिक एक हजार बढी नेपाली किनमेलका लागि भारतीय बजार बनगाउँ पुगिरहेका छन् ।

कोरोना संक्रमणको जोखिम भए पनि बाध्य भएर किनमेलका लागि भारतीय बजार जानुपरेको कैलालीका स्थानीयले बताएका छन् । त्रिनगर–गौरीफन्टा नाका, गड्डाचौकी र खक्रौलासँगै अवैध नाका भएर पनि दैनिक रुपमा किनमेलका लागि सीमा बजार पुग्ने क्रम रोकिएको छैन । दैनिक उपभोग्य सामग्री खरिद गर्नेदेखि सीमा बजारबाट क्यारिङ गर्नेको पनि घुइँचो लाग्ने गरेको छ । स्थानीय बजारमा महँगो मूल्यमा सामान पाइने भएकाले भारत जानुपरेको स्थानीयको भनाइ छ । नेपाली बजारभन्दा भारतीय बजारमा सामान केही सस्तो पाउने भएकाले बाध्यतावश जानु परेको उनीहरु बताउँछन् ।

भारतमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि रोजगारीका लागि फर्किने नेपालीको पनि नाकामा भीड हुने गरेको छ । यस भीडमा दैनिक उपभोग्य सामग्री खरिद गर्ने र क्यारिङ गर्नेहरु पनि सामेल हुने गरेका छन् । यसले कोरोना संक्रमणको जोखिम झनै बढेको छ । भारतबाट आउजाउ गर्ने यात्रु बोकेको सवारीमै किनमेलका लागि जाने नेपालीले पनि आवागमन गर्ने गरेका कारण जोखिम बढेको त्रिनगर गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदले बताउनुभयो । भारतबाट आउनेहरुको मात्रै कोरोना परीक्षण भइरहेको छ । तर यहाँ सामान्य रुपमा आवतजावत गर्नेहरु धेरै छन् । उनीहरुले भारतबाट आउनेहरुकै सवारीसाधनमा आउजाउ गर्दा जोखिम निम्त्याएको इन्चार्ज साउँदले बताउनुभयो ।

स्थानीय प्रशासनले अहिले कैलाली र कञ्चनपुरमा विभिन्न आदेश जारी गरेको छ । शैक्षिक संस्था बन्द गरिएको छ भने, २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ । तर, सबैभन्दा बढी जोखिम भारतबाटै भएको अवस्थामा त्यहाँ आवागमन गर्दा कुनै रोक छैन । यता सीमा नाका बन्द गर्न संघीय सरकारको आदेश आवश्यक भएकाले त्यसमा जिल्लाले केही गर्न नसक्ने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*