भीमफेदी कारागारमा आफन्तसँग भेटघाट बन्द

हेटौंडा । मकवानपुरसंगै देशभर पछिल्लो समय कोरोना सङ्क्रमणको दरबढेसँगै मकवानपुरको क्षेत्रीय कारागार भीमफेदीमा उच्च सतर्कता अपनाइएको छ । कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको छ ।

कारागारका जेलर मदन लामा थिङका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भएर बन्द गरिएको हो । उनले भने, ‘जोखिम बढेसँगै कैदीबन्दीका आफन्तहरुसँग भेटघाटमा रोक लगाएका छौ । माथिबाटै भेटघाट बन्द गराउने आदेश आएसंगै आफन्त भेटघाटलाई बन्द गराएका छौ । ’

कारागारमा अघिल्लो बर्ष कोरोनाबाट ३ सय ५५ जना संक्रमित भएकाले यो वर्ष सावधानी अपनाइएको जेलर लामा थिङले बताए । कारागार प्रशासनले बाहिरबाट नयाँ आएका कैदीबन्दीलाई र अस्पताल लग्नुपर्ने कैदीबन्दीलाई छुट्टै क्वारेन्टिनको समेत व्यवस्था गरेको छ । ५० जनाको क्षमता रहेको क्वारेन्टिको व्यवस्था गरिएको उनले बताए ।

उनले भने, ‘यो बर्ष कारागारमा कोरोना संक्रमित भेटिएका छैनन्” । १५ सय कैदीबन्दी राख्ने क्षमता रहेको यस कारागारमा अहिले ९ सय ९८ कैदिबन्दी रहेका छन् ।

सोमवारसम्म मकवानपुरमा १७ सय १७ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*