प्रधानमन्त्रीद्धारा नेपाली फुटबल टोलीका प्रशिक्षक अल्मुताइरीलाई सम्मान
काठमाडौं । सरकारले नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अबदुल्लाह अल्मुताइरीलाई शुक्रबार सम्मान गरेको छ ।
प्रधानामन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले साफ बीमामा उप(विजेता बनेको नेपाली टोलीका प्रशिक्षक अल्मुताइरीलाई नगदसहित सम्मान गरेका हुन् ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मुधुसुदन उपाध्याय उपस्थित थिए ।
‘आज नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई मधुसुधन उपाध्यायसंगै भेट्न पाउँदा सम्मान पाएको छु ।’ सम्मानित भएपछि अलमुताइरीले सामाजिक सञ्जालमा फोटोसहित पोष्ट गरेका छन् ।
यस्तै अलमुताइरीले शुक्रबारै सरकारबाट पुरस्कार प्रपात गरेका सेन्ट्रल जोन विजेता महिला टोलीसँग पनि सेल्फी खिचाउँदै फोटो पोष्ट गरेका छन् ।
अलमुताइरीको प्रशिक्षणमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो । गत अक्टोबरमा माल्दिभ्समा भएको साफमा नेपाल फाइनल पुग्दै इतिहास रचेको थियो । तर फाइनलमा भने भारतसंग पराजित भयो ।
त्यही उपविजेता टोलीका खेलाडी र अफिसियललाई सरकारले पुसमा नगदसहित सम्मान गरेको थियो ।
इतिहास रच्न सफल टोलीका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख पुरस्कार र अफिसियललाई प्रमाणपत्र हस्तान्तरण गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो । त्यसबेला अल्मुताइरी नेपालमा उपस्थित भएका थिएनन् ।