नवोदयमा कफी हाउस कार्यक्रम

हेटौँडा । गत वर्षझैँ यस वर्ष पनि नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा कफी हाउस कार्यक्रम सञ्चालन भएको छ ।

बुधबार कक्षा ७, ८ र ९ क सेक्सन ‘ए’ समूहमा अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेका पुस्तक कफी हाउस कार्यक्रम मार्फत विमोचन गरी त्यस पुस्तकबाट एउटा सिर्जना आफ्नो अभिभावकमाझ प्रस्तुत गरेका थिए ।

उनीहरुको फरकफरक समयमा कार्यक्रम आयोजना गरिएको छ । विद्यार्थीको सिर्जनशील क्षमता, तार्किक क्षमता, कल्पनाशक्ति, नेतृत्व विकास तथा व्यक्तित्व विकास पु¥याउने विश्वासका साथ विद्यालयले विगत ५ वर्षदेखि कफी हाउस कार्यक्रम गर्दै आइरहेको छ ।

कार्यक्रममा कक्षा ७ सेक्सन ए को कफी हाउस कार्यक्रममा प्रमुख अतिथि रहेका सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले साहित्य क्षेत्रमा कलम चलाएर दाम नकमाए पनि नाम भने पक्कै कमाइने बताएका छन् ।

‘लेख्नु पनि वृद्धि विकासको पाटो हो ।’ उनले भने –‘लेखेर नै महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेलले साहित्य जगतमा आफ्नो प्रभुत्व जमाउन सफल हुनुभएको हो । लेख्ने बानीको जति विकास हुन्छ त्यति नै लेखाइमा निखारता आउने गर्दछ ।’

किताब पढ्दा धेरै कुरा सिक्ने भएकाले गर्दा विद्यार्थीलाई विद्यालयको कोर्षसँगै बाहिरी किताब किनिदिन उनले अभिभावकसँग आग्रह गरे । भाषा, साहित्यलाई अभिन्न पाटोको रुपमा अगाडि बढाइरहेको नवोदय विद्यालयले कफी हाउस कार्यक्रममार्फत विद्यार्थीहरुलाई आफ्नो पेरिफेरिमा रही रचना तयार पारी प्रस्तुत गर्ने अवसर प्रदान गरेकोमा उनले विद्यालयको प्रशंसा व्यक्त गरे ।

विद्यार्थीहरुको पठन संस्कृतिको विकास गर्ने तथा भाषिक सिपको विकास गराउने मूल उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नवोदय शिशु सदन विद्यालयका नेपाली विषयका सुपरिवेक्षक सिएम रिमालले जानकारी दिए ।

यसैगरी कक्षा ८ कको कफी हाउस कार्यक्रमका प्रमुख अतिथि हेटौंडा क्याम्पसका प्राध्यापक तथा साहित्यकार मनोज पोखरेलले कफी हाउस कार्यक्रममा विद्यार्थीले प्रस्तुत गर्नुभएको रचना तारिफयोग्य रहेको बताएका छन् । विद्यार्थीले किताबी ज्ञानलाई मात्र नभई सिर्जनात्मक र व्यवहारिक शिक्षालाई पनि जोड दिनुपर्ने उनले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*