मकवानपुरका शैक्षिक संस्थामा आजदेखि भौतिक उपस्थितिमै पठनपाठन सुरु
हेटौंडा । मकवानपुरका शैक्षिक संस्था एक महिना पछि खुलेका छन् । आजबाट भौतिक उपस्थितिमै पठनपाठन समेत सुरु भएको छ । यहाँका क्याम्पस र बिद्यालयहरु खुलेसंगै घरमै रहेका बिद्याथीहरु बिद्यालय र क्याम्पसमा गएर भौतिक उपस्थितीमै पढ्न थालेका छन् ।
कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका मकवानपुरका शैक्षिक संस्था आजदेखि खुलेका छन् । एक महिनादेखि बन्द विद्यालयमा आजदेखि भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको छ ।
आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी नियमित दैनिक रुपमा नै विद्यालय जानेछन् भने १२ वर्षभन्दा मुनिका बालबालिकालाई आलोपालो गरी पठनपाठन गराउनु पर्ने सरकारको निर्णय छ ।
१२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई कोरोना विरुद्धको खोप दिएर भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्न लागिएको हो । १२ वर्षदेखि मुनिका बालबालिकालाई भने खोप दिन बाँकी छ । यसले गर्दा उनीहरुलाई आलोपालो गरेर पठनपाठन गर्ने सरकारले निर्णय गरेको हो ।
१२ वर्षमुनिका बालबालिकालाई पनि खोप दिन तयारी भइरहेको सरकारले जनाएको छ । गएको हप्ता कोभिड–१९ स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी आजदेखि खुलाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्रालयलाई सिफारिस गरेको थियो । त्यही सिफारिसअनुसार विद्यालय खुल्न लागेका हुन् ।
यसैबीच, आजदेखि खेलकुद, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै खुल्दै छन् । कोरोना भाइरसको जोखिम केही कम भएसँगै बन्द भएका विद्यालय र व्यापार व्यवसाय खुल्न लागेका हुन् । कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हल पनि आजैदेखि खुल्ला हुने भएका छन् ।