उच्च अदालत हेटौंडाले चेपाङको ‘हत्या गर्ने’ सैनिकलाई गर्‍यो जन्मकैदको फैसला

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जभित्र सैनिकको यातनाबाट गम्भीर घाइते भई उपचार क्रममा मृत्यु भएका राजकुमार चेपाङको मुद्दामा जिल्ला अदालतले गरेको निर्णयलाई उल्ट्याउँदै उच्च अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

पाटन उच्च अदालतको हेटौंडा इजलासका न्यायाधीशद्वय चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले नेपाली सेनाको सिद्धिबक्स गणका हुद्दा चिरणकुमार बुढालाई जन्मकैद ९२५ वर्ष० को सजाय गर्ने फैसला गरेको रजिस्ट्रार कैलाश भट्टराईले बताए । बुढाको यातनाका कारण घाइते भएका चेपाङको ०७८ साउन ८ मा अस्पतालमा उपचार क्रममा मृत्यु भएकामा जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीले गत असार २८ मा बुढालाई ९ महिना कैद, ९ हजार रुपैयाँ जरिवाना र मृतकका परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेका थिए । त्यसविरुद्ध पीडितका तर्फबाट उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले पुनरावेदन गरेको थियो । ९ महिना सजाय हुने गरी कसुर ठहर भएकाले जागिर गुमाउन पुगेका बुढाले पनि उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

दुवैतर्फको पुनरावेदनमा उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै पीडितको मागअनुसार बुढालाई जन्मकैदको सजाय हुने गरी फैसला गरेको उच्च सरकारी वकिलको कार्यालय हेटौंडाका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिए ।

बर्दियाको गेरुवा गाउँपालिका–५ का बुढाको हेलचेक्र्याइँले मात्र चेपाङको ज्यान गएको जिल्ला अदालतको फैसला थियो । २०७७ असोज ४ मा पक्राउ परेका बुढा त्यसपछि जिल्ला अदालतको फैसला आउन्जेल ९ महिना २४ दिन थुनामा बसेका थिए । सुरुमा प्रहरीले अनुसन्धान गर्न चासो नदेखाएपछि मानव अधिकारकर्मीले विरोध गरेका थिए ।

राष्ट्रिय मानव अधिकार आयोग, एड्भोकेसी फोरम, थर्ड एलायन्स, इन्सेक, आईसीजेलगायत मानव अधिकारसम्बन्धी संस्थाले स्थलगत अनुसन्धान पनि गरेका थिए । उक्त अनुसन्धानमा संलग्न एक जना मानव अधिकारकर्मीले जिल्ला अदालतले सैनिक बुढा थुनामा बसेको हिसाब गरेर ९ महिनाको मात्र कैद गरेको बताए । उनले भने, ‘यो घटना व्यक्तिलाई गैरकानुनी रूपमा नियन्त्रणमा लिने, यातना दिने र त्यही यातनाका कारण ज्यानसमेत जानेजस्तो गम्भीर मानव अधिकार उल्लंघनको घटनालाई पनि हाम्रा अदालतहरूले कति हल्का रूपमा लिन्छन् भन्ने उदाहरण बनेको थियो । उच्च अदालतको आइतबारको फैसलाले त्यसलाई सच्याएको छ ।’

कान्तिपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*