पुलिस र एपीएफले बराबरी खेल्दै अंक बाँडे

काठमाडौँ– खेलको पहिलो मिनेटमै गरेको गोलको अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसका लागि सुमन लामा र एपीएफका लागि प्रदीप लामाले गोल गरे। पुलिसका सुमनले पहिलो मिनेटमै अग्रता दिलाए। एपीएफका विदेशी डिफेन्डर एडामा डोउम्बिया र गोलरक्षक युया कुरियामाको तालमेल अभावको फाइदा उठाउँदै राष्ट्रिय टोलीका सदस्यसमेत रहेका सुमनले बक्स भित्रबाट खाली पोष्टमा सहज गोल गरे। यसअघि डिफेन्डर कपिल ढकालले सो बल उपलब्ध गराएका थिए।

खेलको ४१ मिनेटमा एपीएफले बराबरी गोल गर्‍यो। उसका प्रदीप लामाले डिबक्स बाहिरबाट गोल गरे। पुलिसका डिफेन्डरले राम्ररी क्लियर गर्न नसकेको बललाई डिबक्स बाहिर नियन्त्रणमा लिँदै प्रदीपले पहिलो बार च्याप्दै गोल गरेका हुन्। राष्ट्रिय टोलीका सदस्यसमेत रहेका पुलिसका गोलरक्षक सत्रुघन चौधरीले सो प्रहार रोक्न नसक्दा एपीएफले बराबरी गर्ने मौका पाएको हो।

एपीएफका राजन गुरुङ खेलको म्यान अफ दि म्याच घोषित भए। उनले १० हजार र ट्रफी पाए। एपीएफकै प्रदीप लामा इमर्जिङ प्लेयर घोषित भए। उनले पाँच हजार पाए।

बराबरीपछि पुलिस र एपीएफ यथास्थानमै रहे। पुलिस १२ खेलबाट ११औं स्थानमै छ भने समान खेलबाट एपीएफ आठौं स्थानमा छ। आजै हुने १२औं चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ।

जारी लिगको १२औं चरणको सकिँदा मछिन्द्र फुटबल क्लब च्याम्पियन भइसकेको छ। यता, च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब दोस्रो डिभिजनमा घटुवा भइसकेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*