बाइडेन र जेलेन्स्कीबीच टेलिफोन वार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीबीच टेलिफोन वार्ता भएको छ।

रुसले युक्रेनमाथि गएको महिनाको अन्तिम (फेब्रुअरी २४) मा आक्रमण थालेपछि जेलेन्स्की लगातार विश्वका विभिन्न देशका नेताहरुसँग निरन्तर वार्तामा छन्।

बाइडेनसँगको टेलिफोन संवादको क्रममा युक्रेनको हालको सुरक्षा अवस्था तथा सुरक्षा एवम् आर्थिक सहायताका सम्बन्धमा छलफल भएको जेलेन्स्कीले ट्वीटमार्फत जानकारी दिएका छन्।

आफूहरुको संवादमा रुसमाथि थप प्रतिबन्ध लगाउने सम्बन्धमा पनि छलफल भएको उनले उल्लेख गरेका छन्।

टेलिफोन वार्तामा बाइडेनले आफ्नो प्रशासन युक्रेनलाई सुरक्षा, मानवीय तथा आर्थिक सहायता थप गर्न प्रतिबद्ध रहेको बताएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ।

बाइडेनले थप सहयोग सुनिश्चित गर्न आफ्नो प्रशासनले सदनसँग सहकार्य गरिरहेको पनि उल्लेख गरेका छन्।

बाइडेनले भिजा र मास्टरकार्डले आफ्नो सेवा रुसमा बन्द गर्ने निर्णय गरेको भन्दै त्यसको स्वागतसमेत गरेका छन्।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले इजरायलका प्रधानमन्त्रीसँग पनि टेलिफोन संवाद गरेका छन्। इजरायल अमेरिकाको निकट सहयात्री भए पनि प्रधानमन्त्री नाफ्टाली बेनेट्टले रुससँगको सम्बन्ध बिगार्न चाहेका छैनन्।

बेनेट्टले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीन घण्टा लामो संवाद गरेपछि जेलेन्स्की र उनीबीच टेलिफोन वार्ता भएको हो।जेलेन्स्कीको आग्रहमा इजरायलले युक्रेन–रुस वार्ताका लागि मध्यस्थता गर्ने प्रस्ताव गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*