नेता दाहालद्वारा हेटौंडाको मेयर पदमा उम्मेदवारी दिने आंकक्षा

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका युवा नेता प्रभातकुमार दाहालले हेटौंडा उपमहानगरको मेयर पदमा उम्मेदवारी दिने आंकक्षा व्यक्त गरेका छन् ।

१४ औं जिल्ला अधिवेशनमा सभापति पदमा बुद्ध लामालाई सहयोग गरेका दाहालले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उपमहानगरको मेयर उम्मेदवारी दिने दावी गर्दै आन्तरिक कसरतमा जुटेका छन् । उनले आफू निकटका नेताहरुलाई आफ्नो पक्षमा माहौल सिर्जना गर्न समेत आग्रह गरिसकेका छन् ।

उनी निकट स्रोतका अनुसार कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ पनि दाहाललाई मेयरको रुपमा अगाडि बढाउने विषयमा सकारात्मक रहेका छन् । करिब १२ वर्षदेखि मकवानपुरमा संस्थापन इतरको राजनीति गरेर छायाँमा परेको दाहाल नेपाल विद्यार्थी संघका केन्द्रीय निवर्तमान महामन्त्री समेत हुन् । जिल्ला अधिवेशनमा बानियाँ र दाहाल एउटै मोर्चामा उभिएर लामालाई सभापति पदमा विजयी गराएपछि अबको हेटौंडाको मेयरमा पार्टीले उनलाई टिकट दिने विश्वास गरिएको छ । कांग्रेसको तर्फबाट अन्य नेताहको नाम मेयरमा चर्चामा रहेको अवस्थामा दाहालले भने टिकटका लागि लविङ्ग गरिदिन आग्रह गर्दै केन्द्रीय नेतासँग भेटघाटमा रहेका छन् ।

दाहालले कांग्रेस मकवानपुर सल्लाहकार, जिल्ला खेलकुद विकास समिति मकवानपुर अध्यक्ष, निर्माण व्यवसायी संघ मकवानपुर अध्यक्ष, नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

लामो समय मकवानपुर कांग्रेसभित्र तेस्रो धारको नेतृत्व गरेका दाहाल हाल केन्द्रीय नेता प्रकाशमानसिंहको विश्वासिलो पात्र हुन् । कांग्रेस महाधिवेशनमा सभापति देउवा र सिंह एउटै कित्तामा उभिएपछि मकवानपुरमा दाहालको प्रभाव बढेको छ । महासमिति प्रतिनिधि छनौट गर्दा बानियाँले दाहालको माग अनुसार संख्या उपलब्ध गराएपछि मकवानपुर कांग्रेसमा हलचल पैदा भएको छ । जिल्लाका चर्चित नेताहरु समेत महासमिति सूचीमा अटाएका छैनन् । महासमिति प्रतिनिधि कांग्रेसको सवैभन्दा उच्च पद हो । स्रोतका अनुसार पछिल्लो समय स्थानीय निर्वाचनको विषयलाई लिएर बानियाँ र दाहालवीच दैनिक भेटवार्ता भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*