एक बर्ष १६ दिनमै निर्माण भयो हेटौंडाको क्याम्पा रंगशाला
हेटौंडा । हेटौंडा–५ स्थित क्याम्पाडाँडामा निर्माण कार्य सुरु भएको एक बर्ष १६ दिनमै क्याम्पा रंगशाला निर्माण भएको छ । निर्माण कार्य सुरु भएको एक बर्ष १६ दिनमा आज शुक्रबार रंगशाला उद्घाटन गर्न लागिएको छ । रंगशाला निर्माण अभियान पिप्ले युवा क्लवको अगुवाई एवम् हेटौंडा–५ नम्बर वडा कार्यालय र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सुरु भएको थियो ।
पिप्ले युवा क्लवका अध्यक्ष सुशील घिमिरेले करिब पौने २ करोडमा रंगशाला निर्माण गरिएको जानकारी दिए । ‘एक बर्ष १६ दिनमा हामीले रंगशाला उद्घाटन गर्दैछौं । हेटौंडा उपमहानगरपालिका र ५ नम्बर वडाको गरी १ करोड ३९ लाख लगानी भएको छ । विभिन्न सहयोगी संस्था एवम् व्यक्तिहरुबाट पनि करिब ३० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ’, घिमिरेले भने, ‘ठ्याक्कै हिसाव निकाल्न बाँकी छ । हालसम्म पौने २ करोड रुपैयाँ खर्च भएको हाम्रो अनुमान छ ।
रंगशालामा करिब ५ हजार दर्शक अट्ने प्याराफिट निर्माण गरिएको छ । फलामको र कंक्रिटको प्याराफिट निर्माण गरिएको हो । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, ५ नम्बर वडा अध्यक्ष राजेश बानियाँ लगायतले संयुक्त रुपमा रंगशालाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शनिबारबाट यही रंगशालामा प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता समेत आयोजना हुँदैछ । पूर्व बक्सिङ खेलाडी समेत रहेका पिप्ले युवा क्लवका अध्यक्ष सुशील घिमिरेको विशेष पहल एवम् अगुवाईमा रंगशाला निर्माणको काम सुरु भएको हो ।
फुटबल खेलाडी उत्पादनमा अग्रस्थानमा रहेको मकवानपुरमा रंगशालाको अभावमा यहाँ हुने फुटबल लगायतका खेलकुद प्रतियोगिताहरु निकै फितलो हुँदै आएको थियो । रंगशाला निर्माण पश्चात आगामी दिनमा फुटबलसहित विभिन्न खेलकुदका गतिविधि आयोजना गर्न सहज हुनेछ । रंगशाला निर्माण सम्पन्न हुँदा धेरै खुसी मिलेको घिमिरेको भनाई छ । ‘राम्रो काम आँटेपछि पूरा हुने रहेछ ।
सबैको साथ पाइने रहेछ । मैले त यसको अगुवाई गरेको मात्र हुँ । आम मकवानपुरबासी, हेटौंडा उपमहानगरपालिका र वडा कार्यालयको विशेष सहयोगले निर्माण सम्पन्न भएको हो’, उनले भने, ‘अब यो जिल्लाको सम्पति हो । अझ भनौं, राष्ट्रकै सम्पति हो । यसको जगेर्ना गर्नु आवश्यक छ ।’ रंगशालामा फुटबल, एथ्लेटिक्स सहित इन्डोर खेलहरु बक्सिङ, कराते, तेक्वान्दोलगायतका खेल खेल्न मिल्नेछ । रंगशालामा अन्तर्राष्ट्रिय मापदण्डको ८ लेनसहितको १० मिटर चौडाईको एथ्लेटिक्स ट्रयाक निर्माण भएको छ । अब रंगशाला परिसरमै कभर्ड हल बनाउने योजना रहेको उनले सुनाए ।