आयात बढेसँगै चुलियो व्यापार घाटा

काठमाण्डौ – आयात बढेसँगै व्यापार घाटा चुलिएको छ । व्यापार घाटा १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको सात महिनामा कुल वस्तु व्यापार घाटा ३८ दशमलव ४ प्रतिशतले बढेको छ । आर्थिक वर्षको समीक्षा अवधिमा निर्यात आयात अनुपात ११ दशमलव ५ प्रतिशत पुगेको छ । सात महिनाको कुल वस्तु आयात ४२ दशमलव ८ प्रतिशतले बढेर ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बराबर पुगेको छ।

भारतबाट ३१ प्रतिशत, चीनबाट ४२ दशमलव ३ प्रतिशत र अरु देशबाट ८३ दशमलव ८ प्रतिशतले आयात बढेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ । पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, गाडी तथा पाटपुर्जालगायतका सामानको आयात बढेको छ ।

निर्यातको मात्रा पनि केही बढेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको सात महिनाको अवधिमा वस्तु निर्यात ८८ दशमलव ३ प्रतिशतले बढेर एक खर्ब ३१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।

भारततर्फको निर्यात ११३ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात भने १२ दशमलव ४ प्रतिशतले घटेको छ । अरु देशतर्फको निर्यात पनि २७ दशमलव ७ प्रतिशतले बढेको छ । नेपालबाट पाम तेल, सोयाबिन तेल, पिना, धागो, जुसलगायतका वस्तुको निर्यात बढेको छ । अलैँची, चिया, जडीबुटीको निर्यात भने घटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*