१६ हजार रुसी सैनिक मारिएको युक्रेनको दावी

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशको प्रतिरक्षा बलले रुसी आक्रमणकारी सैनिकलाई गम्भीर धक्का दिएको दाबी गरेका छन्।

नियमित भिडियो सम्बोधनको क्रममा जेलेन्स्कीले शुक्रबार राति भनेका छन्, ‘गत हप्ताभरमा हाम्रा नायक सैन्य बलले शत्रु पक्षलाई गम्भीर धक्का दिएका छन्।’ उनले १६ हजार रुसी सैनिक मारिएको बताएका छन्। तर रुसले भने आफ्ना १३ सय ५१ सैनिकमात्रै हालसम्म युक्रेनमा मारिएको दाबी गरेको छ।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ। रुसी रक्षामन्त्री सर्गेइ शोइगु सार्वजनिक रुपमा नदेखिएकोप्रति जेलेन्स्कीले भनेका छन्, ‘भनिन्छ रुसका रक्षामन्त्री कहीँ हराए।’ रुसी रक्षामन्त्री शोइगु मार्च ११ देखि सार्वजनिक रुपमा देखिएका छैनन्। उनलाई हृदयघात भएको युक्रेनी आन्तरिक मामिला मन्त्रालयका एक सल्लाहकारले बताएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गएको बिहीबार (मार्च २४) सार्वजनिक गरेको भिडियोमा भने शोइगु केही सेकेण्डका लागि देखिएका थिए। तर पछिल्लो दुई हप्तादेखि पुटिनले गर्ने गरेका बैठकमा अरु मन्त्रीहरु देखिए पनि शोइगु देखिएका छैनन्।

जेलेन्स्कीले आफ्नो देशका सुरक्षा फौजलाई धन्यवाद दिँदै भनेका छन्, ‘हाम्रा सैनिकप्रति म आभारी छु कि शत्रुलाई आँधी आएपछि समुद्र शान्त बस्दैन भन्ने देखाएकोमा किनकि हाम्रो भूमि हडप्न खोज्नेहरुका लागि त्यहाँ आगो हुनेछ।’

आफ्नो सुरक्षा बलको रक्षात्मक सफलताले रुसी नेतृत्वलाई वार्ता अत्यावश्यक रहेको महत्वपूर्ण तर सामान्य सन्देश दिएको जेलेन्स्कीले बताएका छन्। तर ती वार्ता अर्थपूर्ण, तत्काल र निष्पक्ष हुनुपर्ने उनले बताए। वार्ता निष्कर्षका लागि गरिनुपर्ने उनको भनाइ छ।

रुसी घेराबन्दीमा रहेको सहर मारिपोलको अवस्था थप संकटपूर्ण बन्दै गएको जेलेन्स्कीले बताएका छन्। दशौँ हजार मानिस पानी, खाद्यान्नसहितका अत्यावश्यक सामग्रीविना नाजुक अवस्थामा फसिरहेको र रुसी सैनिकले मानवीय सहायता मार्ग खुला नगरेको जेलेन्स्कीले बताए।

रुसले मार्च १६ मा मारिपोलको थिएटरमा आक्रमण गरेको थियो। रुसी गोलाबारीबाट जोगिन थिएटरमा शरण लिएकामध्ये करिब ३०० जनाको मृत्यु भएको युक्रेनी अधिकारीले बताएका छन्।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*