मतदानअघि नै खारेज इमरान खानविरुद्धको अविश्वास प्रस्ताव

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव खारेज भएको छ।

संसदका उपसभामुख क्वासिम खान सुरीले संविधानको धारा ५ विपरीत रहेको भन्दै प्रधानमन्त्री खानविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव खारेज गरेको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ।

संसदको आइतबारको बैठकको अध्यक्षता गरेको उपसभामुख सुरीले अविश्वास प्रस्ताव नै संविधानविपरीत रहेको जिकिर गर्दै खारेज गरेका हुन्।

विपक्षी दलले सभामुख असद कैसरविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि आइतबारको बैठकको अध्यक्षता उपसभामुखले गरेका हुन्।

प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित गर्नेमा ढुक्क देखिएका विपक्षी दलका सांसद संसद भवन पुगेका थिए। तर उपसभामुखको कदमसँगै खानलाई सत्ताच्युत गर्ने उनीहरुको प्रयास तत्कालका लागि असफल भएको छ।

अविश्वास प्रस्ताव पारित हुन कम्तीमा १७२ सांसदको समर्थन चाहिन्थ्यो। तर मतदानअघि नै उपसभामुखले खारेज गरेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*