काँग्रेस जिताउने ठेक्का माओवादीले लिएको छैन – मन्त्री आङ्वो

काठमाडौं । प्रदेश -१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले गठबन्धन लोकतन्त्र, व्यवस्था र संविधान रक्षार्थ जिम्मेवारपूर्ण सहकार्यको अपेक्षाका लागि मात्रै भएको बताएका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेको मन्त्री आङ्वोले सामाजिक संजालमा स्टाटस लेख्दै आवश्यकता र औचित्यको आधारमा स्थानीय स्तरमा नै तालमेलको अधिकार दिन शीर्ष नेताहरुलाई आग्रहसमेत गरेका छन् ।

केन्द्रमा गठबन्धनका दलहरुले तालमेलको मोडालिटी बनाइरहेको अवस्थामा मन्त्री आङ्वोले एमालेलाई हराएर काँग्रेसलाई जिताउने ठेक्का माओवादीको नरहेको बताएका हुन् ।

‘एउटालाई हराएर अर्कालाइ जिताउने ठेक्का माओवादीको होइन । लोकतन्त्र, व्यवस्था र संविधान रक्षार्थ जिम्मेवारपूर्ण सहकार्यको अपेक्षा मात्र हो । सहमतिको नाममा विलम्ब घातक मात्र हुन्छ । अब मैत्रीपूर्ण प्रतिस्पर्धाको लागि अबिलम्ब अगाडि बढौँ,’ उनले लेखेका छन्, ‘शिर्ष नेताहरुलाइ आग्रह छ । आवश्यकता र औचित्यको आधारमा स्थानीय स्तरमा नै तालमेलको अधिकार स्वेच्छिक र खुल्ला गरिदिउँ।’

गठबन्धनमा केही असमझदारी उत्पन्न भएपछि उनले उक्त अभिव्यक्ति दिएका हुन् । सङ्खुवासभा जिल्लामा काँग्रेस र माओवादीले गठबन्धन नरहेको औपचारिक रूपमै घोषणा भइसकेको जनाइएको छ ।

शनिबार नेकपा माओवादी केन्द्र जिल्ला समोन्वय समिति संखुवासभाले विज्ञप्ति जारी गर्दै संखुवासभा काँग्रेसले गठबन्धन टुटेको भन्दै एकलौटी निर्णय गरेको अवस्थामा आफूहरु पनि स्थानीय तहको निर्वाचनका लागि निर्णय गर्न स्वतन्त्र रहेको बताएको छ ।

यसै सन्दर्भलाई इंगित गर्दै मन्त्री आङ्वोले कसैलाई जिताएर कसैलाई हराउने ठेक्का माओवादी केन्द्रको नरहेको बताएका हुन् ।

उनको यो भनाइले यो इंगित गर्छकी प्रदेश १ मा माओवादीले काँग्रेससँगको गठबन्धनलाई अनिवार्य सर्तका रुपमा लिएको छैन । र, आवश्यक परे माओवादीले नेकपा एमालेसँग पनि स्थानीय तहमा तालमेल गर्न सक्छ ।

गठबन्धनको आवश्यकता सबैभन्दा धेरै काँग्रेसलाई नै रहेको अनि सबै सिट पनि काँग्रेसलाई नै चाहिने भन्दै मन्त्री आङ्वोले असन्तुष्टिसमेत पोखेका छन् ।

काँग्रेस भित्रैको एकथरी गुटलाई नेतृत्वले व्यवस्थापन गर्न नसक्नु पनि गठबन्धनको अर्को चुनौति भएको उनको भनाइ छ ।

आवश्यकताका आधारमा कुनै स्थानीय तहमा एमालेसँग पनि गठबन्धन हुनसक्ने र कुनैमा काँग्रेससँग गठबन्धन हुनसक्ने मन्त्री आङ्वोले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*