एकीकृत समाजवादीलाई पोखराको मेयर दिएपछि कांग्रेस कार्यालयमा ताला

कास्की । पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने निर्णय गरिएपछि नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो ।

नेपाली कांग्रेस पोखरा महानगरका सचिव गणेशबहादुर थापाले कांग्रेस कार्यकर्तालाई अपमान हुने गरी एकीकृत समाजवादीलाई मेयर दिने निर्णय नसच्याउँदासम्म ताला नखोल्ने बताए ।

अब कसरी अगाडि बढ्ने भन्ने विषयमा महानगर कमिटी, वडा कमिटी र पदाधिकारीको बैठक दिउँसो एक बजे बोलाइएको उनले जानकारी दिए । केन्द्रको निर्णयविरूद्ध विद्रोह हुने बताउँदै थापाले स्वतन्त्र उम्मेदवारी भए पनि दिने विषयमा बैठकमा छलफल हुने बताए ।

सोमबार नै पोखरा एकीकृत समाजवादीको भागमा परेको खबर बाहिरिएसँगै नेपाली कांग्रेस कास्की जिल्ला र नगर समितिका सचिवले एकीकृत समाजवादीसँग सम्बन्ध टुटेको, हैसियतभन्दा ठूलो भाग खोजेको भन्दै मित्रवत प्रतिस्पर्धा गर्ने बताएका थिए । लगत्तै सोमबार नै सभापति शेरबहादुर देउवाले तुरून्त काठमाडौं आउनू भनेपछि कास्कीका कांग्रेस नेता हरू मंगलबार देउवालाई भेट्न गएका थिए । देउवाले गठबन्धनका समस्या बुझिदिन र विवाद ननिकाली गठबन्धनलाई जिताउन निर्देशन दिएका थिए । पोखरा एकीकृत समाजवादीले नै पाउने पक्का भएपछि कास्कीका नेता, कार्यकर्ता रुष्ट छन् ।

पाँच दलीय सत्ता गठबन्धनको मंगलबार बसेको बैठकमा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीलाई दिने सहमति जुटाएको थियो । नेकपा एकीकृत समाजवादीको कास्की जिल्ला कमिटीले पोखरा महानगरपालिकाको मेयर उम्मेदवारका लागि दिलु पन्त, श्रीनाथ बराल र धनराज आचार्यको नाम सिफारिस गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*