एक सातामा नेप्सेमा ८९.७९ अंकको गिरावट

काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ८९.७९ अंकले गिरावट आएको छ ।

चालु आर्थिक वर्षको सुरुवातसँगै शेयर बजारमा तीव्र रूपमा उतारचढाव भइरहेको छ । गत साता तीन दिन मात्रै कारोबार भएको नेप्से परिसूचक ४९.०७ अंकले गिरावट आएको थियो । पछिल्लो एक सातामा नेप्से गत साताको भन्दा उच्च ८९.७९ अंकले गिरावट आएको छ ।

८ महिना अगाडि २०७८ भदौ २ गते बुधबार ३१९८.६० विन्दुमा पुगेर नेपाली शेयर बजारमा नयाँ कीर्तिमान बनेको थियो । तर, आठ महिनायता लगातार रूपमा गिरावट आएको नेप्से २०७९ बैशाख ८ गतेसम्म आउँदा ८७३।१५ अंकले घटेर २३२५.४५ विन्दुमा सीमित भएको छ ।

नेप्से ३२ सय विन्दुमा पुग्दा झण्डै २२ अर्बसम्म कारोबार गरेका लगानीकर्ता अहिले अन्योलमा रहँदा कारोबार रकम खुम्चिएर १ अर्बमा झरेको छ । यो हप्तालाई नै आधार मान्ने हो भने ५ दिनको कारोबारमा दुई दिन सामान्य अंकले बढ्दा ३ दिन उच्च अंकले गिरावट आएको छ ।

साताको पहिलो कारोबार भएको दिन आइतबार नेप्से परिसूचक २९।६० अंकले घटेर २३८५.६४ विन्दुमा झरेको थियो । र, आइतबार कारोबारमा आएका २३३ कम्पनीको ३४ लाख ७ हजार कित्ता शेयर १ अर्ब ४४ करोड ७ लाख २३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

त्यस्तै, सोमबार पनि नेप्से परिसूचक ४१।७७ अंक घटेर २३४३.८७ विन्दुमा झरेको थियो । सोमबार कारोबारमा २२९ कम्पनीको ३८ लाख ७६ हजार कित्ता शेयर १ अर्ब ५३ करोड ६ लाख ९२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

मंगलबार भने नेप्से परिसूचक सामान्य १३.३७ अंकले बढेर २३५७।२४ विन्दुमा माथि पुगेको थियो । मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ३२ लाख १३ हजार कित्ता शेयर १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

मंगलबार नेप्से सामान्य अंकले बढे पनि बुधबार भने नेप्से परिसूचक ३६।७३ अंक घटेर २३२०.५१ विन्दुमा झरेका थियो । बुधबार कारोबारमा आएका २२८ कम्पनीको ३५ लाख ७० हजार कित्ता शेयर १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से ४.९४ अंक बढेर २३२५.४५ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०६ अंक, फ्लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंकले बढेको छ ।

बिहीबार कारोबारमा आएका २३१ कम्पनीको ३९ लाख ९१ हजार कित्ता शेयर १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबारको तुलनामा बिहीबार कारोबार रकममा सुधार भएको छ । बुधबार १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*