निर्वाचन नजिकिएसँगै इन्धनको माग बढ्दो

काठमाडौं । निर्वाचनको मिति नजिकिएसँगै पछिल्लो एक सातामा मुलुकभर झन्डै छ करोड लिटर पेट्रोलियम पदार्थ खपत भएको छ ।

नेपाल आयल निगमका अनुसार वैशाख १९ देखि २५ गते आइतबारसम्ममा ५९ हजार ९२७ किलोलिटर अर्थात् पाँच करोड ९९ लाख २७ हजार लिटर इन्धन खपत भएको छ । सो अवधिमा २० हजार ३२७ किलोलिटर पेट्रोल र ३९ हजार छ सय किलोलिटर डिजेल खपत भएको छ । अघिल्लो सोमबारदेखि बजारमा इन्धनको खपत बढ्दै गएको हो ।

निर्वाचनका कारण मुलुुकभर इन्धनको माग बढेको निगमले जनाएको छ । निगम प्रवक्ता विनीतमणि उपाध्यायले निर्वाचनका कारण डिजेल र पेट्रोलको खपत ४० प्रतिशतले बढेको जानकारी दिनुुभयो ।

उहाँका अनुसार सामान्य अवस्थामा पेट्रोल दैनिक अधिकतम दुई हजार पाँच सय किलोलिटर बिक्री हुने गरेकामा अहिले चार हजार किलोलिटरसम्म खपत हुने गरेको हो । यसअघि दैनिक अधिकतम छ हजार किलोलिटर डिजेल खपत हुने गरेकामा अहिले १० हजार किलोलिटरसम्म भएको निगमले जनाएको छ ।

हाल दैनिक पौने तीन अर्ब रुपैयाँको डिजेल र पेट्रोल बिक्री भइरहेको छ । वैशाख १९ देखि २५ गतेसम्म निगमको थानकोट डिपोबाट डिजेल छ हजार ५५६ किलोलिटर र पेट्रोल पाँच हजार ६६२ किलोलिटर बिक्री भएको छ । यो सातामा दुई दिन सार्वजनिक बिदा परेकाले ती दिन थानकोट डिपोबाट पेट्रोलियम पदार्थ बिक्री भएको छैन ।

सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेकाले डिजेल र पेट्रोलको खपत सातदेखि १० प्रतिशत कमी आउने प्रवक्ता उपाध्यायले जानकारी दिनुुभयो । दुुई दिन सार्वजनिक बिदा भएपछि सवारीसाधन कम चल्ने भएकाले इन्धन खपतमा कमी हुने अनुुमान गरिएको हो ।

वैशाख पहिलो साता प्राप्त भारतीय आयल कर्पोरेसन ९आईओसी०को नयाँ बिक्री मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको खरिद लागत मूल्य क्रमशः प्रतिलिटर १८३ रुपैयाँ दुई पैसा र १८३ रुपैयाँ १३ पैसा छ । निगमले अहिले प्रतिलिटर १६० रुपैयाँ लिटरमा पेट्रोल र १४३ रुपैयाँमा डिजेल बिक्री गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*