हेटौंडामा ३० वर्ष लामो एमालेको विरासत तोडियो

हेटौंडा । प्रदेश राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकामा ३० वर्ष लामो नेकपा एमालेको विरासत तोडिएको छ। मेयरमा गठबन्धन दल एकीकृत समाजजादावादीबाट मीना लामा विजयी भएकी छन्। कांग्रेसले पनि पहिलोपटक नगरको नेतृत्वमा प्रवेश पाएको छ। उपमेयरमा कांग्रेसका राजेश बानियाँ विजयी भएका छन्।

२०४९ सालदेखि हेटौंडाको मेयर र उपमेयर जित्दै आएको एमालेले २०७९ को निर्वाचनबाट भने दुवै पद गुमाएको छ। एमालेका उम्मेदवार अनन्त पौडेललाई २ हजार १६७ मतले पछि पार्दै गठबन्धन दल समाजवादीकी लामा मेयरमा निर्वाचित भएकी हुन्। लामाले २३ हजार ७५ मत ल्याउँदा निकतम प्रतिस्पर्धी एमाले नेता अनन्तप्रसाद पौडेलले २० हजार ९०८ मत प्राप्त गरे।

त्यस्तै, राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५३१ मत प्राप्त गरे। उपमेयरमा कांग्रेसका राजेश बानियाँ ३२ हजार ५९३ मतसहित विजय भए। एमालेकी सुमीत्रा कापफ्लेले २३ हजार ९०९ र राप्रपाकी इन्दिरा न्यौपानले ५ हजार ४८३ मत पाइन्।

मकवानपुरमा फेरियो शक्ति सन्तुलन
बागमतीको राजधानी जिल्ला मकवानपुरमा राजनीतिक शक्ति सन्तुलन फेरिएको छ। आममतदाताले पार्टीको घेराभन्दा बाहिर गएर नयाँ नेतृत्व चयन गरेका छन्। कांग्रेस मकवानपुरमा पहिलो शक्तिको रूपमा उदाएको छ। २०७४ को स्थानीय निर्वाचनमा जम्मा २ पालिका प्रमुख र ३१ वडाध्यक्ष जितेको कांग्रेसले यसपटक ५ पालिका प्रमुख र ४ उपप्रमुसँगै ४४ वटा वडाध्यक्ष जितेको छ। यो निर्वाचनबाट एमालेलाई ठूलो धक्का पुगेको छ। हेटौंडासहित ५ पालिका प्रमुख, उप्रमुख र थप २ पालिका उपप्रमुख जितेको एमाले यसपटक २ पालिका प्रमुख र १ उपप्रमुखमा साँघुरिएको छ।

२०४९ सालदेखि हेटौंडाको मेयर र उपमेयर जित्दै आएको एमालेले २०७९ को स्थानीय निर्वाचनबाट भने दुवै पद गुमाएको छ।
मकवानपुरको १०२ वडायक्षमध्ये ५१ वडाध्यक्ष जितेको एमालेले यसपटक ३१ वडाध्यक्षमा चित्त बुझाउनुपरेको छ। माओवादी केन्द्रले पनि आफूलाई सुधार गरेको छ। २ पालिका प्रमुख र २० वडाध्यक्ष जितेको माओवादीले यसपटक २ पालिका प्रमुख, ५ उपप्रमुख र २४ वडाध्यक्ष जितेको छ। ‘यसपटक जनताले पार्टी मात्र हेरेनन्। नयाँ व्यक्ति हेरे र साथमा युवा पुस्तालाई प्राथमिकता दिए,’ मकवानपुर बहुमुखि क्याम्पसका प्रमुख प्राध्यापक डा। शंकर उपाध्यायले भने, ‘अब जनता कसैको दलको सीमिति घेरामा मात्र बस्दैनन् भन्ने संकेत यो चुनावले दिएको छ।’ स्थानीय निर्वाचनबाट राजनीतिक शक्ति सन्तुलन बदलिएको र दलहरूले यसबाट पाठ सिक्नुपर्ने उनको भनाइ छ।

मकवानपुरको राजनीतिक शक्ति सन्तुलनमा यसपटक राप्रपाले ठूलो भूमिका खेलेको छ। २०७४ को निर्वाचनमा करिब ७ हजार मत पाएको राप्रपाले यसपटक २० हजार ३३१ मत पाएको छ। विजयी उम्मेदवार लामाको भन्दा २ हजार ७४४ मत मात्र कम हो। कांग्रेस, एमालेको सांगठनिक मतसहित अन्य राजनीतिक दल आबद्ध र स्वतन्त्र मत पनि उनले पाएका छन्। ‘बदलिएको शक्ति सन्तुलनले अबको प्रदेश र संघीय निर्वाचनमा पनि प्रभाव पार्ने देखिन्छ,’ हेटौंडा–९ का बिजन्द्र अग्रवालले भने, ‘जनताले विकास र समृद्धि जनताले चाहेका छन्। निर्वाचित जनप्रतिनिधिहरूले भौतिक पूर्वाधारको विकाससँगै विकासका विविध आयमहरूलाई सम्बोधन गर्न सक्नुपर्छ।’ अन्‍नपूर्ण पोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*