शैक्षिकस्तर सुधारका लागि मकवानपुर क्याम्पस र कान्ति मावि बीच सहकार्य

हेटौंडाः हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पस र मकवानपुरको बकैया गाउँपालिका–१० स्थित कान्ति मावि बीच सहकार्य हुने भएको छ । कान्ति माविको शैक्षिकस्तर सुधारका लागि सोमबार मकवानपुर बहुमुखी क्याम्पसमै दुईपक्षबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

मकवानपुर जिल्लाकै पहिलो र ठूलो क्याम्पस भएकाले जिल्लाका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न क्षेत्रमा सहयोग र सहकार्य गर्दै अघि बढ्न कान्ति माविसँग समझदारी गरिएको मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा। शंकरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । समझदारीपत्रमा मकवानपुर बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पसका प्रमुख डा। शंकरप्रसाद उपाध्याय र कान्ति माविका तर्फबाट विद्यालयका प्रधानाध्यापक जगतमान घलेले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअनुसार मकवानपुर बहुमुखी क्याम्पसले कान्ति माविका विद्यार्थीका लागि कम्प्युटर, विज्ञान प्रयोगशाला र पुस्तकालय सञ्चालनसम्बन्धी तालिमका लागि विज्ञ जनशक्ति उपलब्ध गराउने छ । यस्तै विषयगत शिक्षक तथा कर्मचारी तालिम सञ्चालनका लागि पनि क्याम्पसले विज्ञ जनशक्ति उपलब्ध गराउनेछ । तालिम सञ्चालन गर्न आवश्यक स्रोत, सामग्री विद्यालयले नै व्यवस्थापन गर्नुपर्नेछ ।

विश्वविद्यालय अनुदान आयोगबाट अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गरेको मकवानपुर बहुमुखी क्याम्पसले विद्यालय तहमै गुणस्तरीय विद्यार्थी उत्पादन गर्न यस किसिमको सहकार्यको सुरुवात गरेको जनाएको छ । आगामी दिनमा जिल्लाका अन्य विद्यालयमा पनि सहकार्यको सुरुवात गरिने क्याम्पस प्रमुख डा। उपाध्यायले बताउनुभयो । साझेदारीसम्बन्धी हस्ताक्षर गर्ने कार्यक्रममा कान्ति मावि व्यवस्थापन समितिका अध्यक्ष रुपेन घले, मकवानपुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख, क्याम्पसका विभागीय प्रमुखको पनि सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*