रुपन्देहीको रोहिणी खोलामा रात्रिबस दुर्घटना – ९ जनाको मृत्यु ,५ जनाको सनाखत

रुपन्देही – रुपन्देहीको रोहिणी खोलामा रात्रिबस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । अरु २३ जना यात्रु घाइते भएका छन् ।

जनकपुरबाट भैरहवाका लागि छुटेको बस भैरहवा–परासी हुलाकी राजमार्ग खण्ड रोहिणी पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

यस्तै मृत्यु भएका ९ जना मध्ये ५ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अन्य चार जनाको परिचय खुल्न बाँकी रहेको छ ।

भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका लागि पुऱ्याइएका २० जना घाइतेमध्ये ५ जनाको मृत्यु भएकोमा ३ जनाको सनाखत भएको छ भने भीम अस्पतालमा मृत्यु भएका २ जनाको सनाखत भएको छ । रुपन्देही डिएस्पी नवरत्न पौडेलका अनुसार मृत्यु हुनेमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट जिल्लाका २० वर्षीय दिनेश दास र बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रुपन्देहीको ओमसतिया–४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको खुलेको छ । दुर्घटनामा भारतीय नागरिक ४० वर्षीय अरविन्द शर्माको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस भैरहवा सडक खण्डस्थित पुलबाट खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*