सातामा १४५.०८ अंकले घट्यो नेप्से

काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा उच्च अंकले गिरावट आएको छ।

साताको पाँच दिन भएको कारोवारमा नेप्से १४५.०८ अंक घटेको छ। गत साताको अन्तिम कारोबार दिन शुक्रबार २२२३।७८ बिन्दुमा रहेको नेप्से यो साताको अन्तिम कारोवार शुक्रबारसम्म १४५.०८ अंकले घटेर २०७८.७० बिन्दुमा झरेको छ।

शेयर बजार लामो समयदेखि निरन्तर रूपमा गिरावट हुँदै आएको छ। बजारमा आएको निरन्तर गिरावटका कारण १० महिना अघि ३२ अंक नजिक पुगेको नेप्से इन्डेक्स करिब ११२० अंकले गिरावट आएर २०७८.७० अंकको बिन्दुमा झरेको छ।

चालु आर्थिक वर्षको सुरुवातसँगै बैंकिङ प्रणालीमा आएको लगानी योग्य रकम (तरलता) को अभाव तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिले शेयर धितो कर्जामा लगाएको ४/१२ करोडको नीतिका कारण शेयर बजार घट्दै गएको छ।

लगानीकर्ताहरूले आन्दोलनदेखि ४/१२ करोडको व्यवस्थालाई संशोधन गर्न बारम्बार अर्थमन्त्री तथा राष्ट्र बैंकसँग माग गर्दै आएका छन्।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा ४/१२ नीति हटाउन माग गरे पनि सरकारले शेयर लगानी कर्ताको माग सुनुवाइ गरेको देखिएको छैन।

सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएपछि शेयर बजारमा सुधार आउने लगानीकर्ताको अपेक्षा थियो। तर, सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट शेयर बजार मैत्री नदेखिएसँगै बजार भारी अंकले घट्दै गएको छ।

सातामा पाँच दिन भएको कारोबारमा पाँचै दिन नेप्सेमा गिरावट आएको छ। जेठ १५ गते अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटपछि अर्थात् साताको पहिलो कारोवारका दिन सोमबार नेप्से परिसूचक ४५।०९ अंक घटेर २१७८।६९ बिन्दुमा झरेको थियो।

उक्त दिन कारोबारमा आएका २२७ कम्पनीको ३ लाख ५६ हजार कित्ता शेयर १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

यसैगरी, साताको दोस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक ३५।५३ अंक घटेर २१३७।९२ बिन्दुमा झरेको थियो। मंगलबार नेप्सेसँगै कारोबार रकममा पनि सामान्य गिरावट आएको थियो। मंगलबार कारोवारमा आएका २२९ कम्पनीको लाख ६९ हजार कित्ता शेयर १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

बुधवार पनि नेप्से परिसूचक र कारोबार रकम दुवै घटेको थियो। बुधवार कारोबारमा आएका २२७ कम्पनीको ३० लाख २० हजार कित्ता शेयर १ अर्ब ७ करोड ८५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

त्यस्तै, बिहीवार शेयर बजार मापन गर्ने सूचक १८.२६ अंकले घटेर परिसूचक २११२.४७ बिन्दु झरेको थियो। बिहीवार कारोबारमा आएका २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता सेयर १ अर्ब १६ करोड १५ लाख १४ हजार १६८ रुपैयाँको सेयर किनबेच भएको थियो।

साताको अन्तिम कारोबार दिन नेप्से ३३.७६ अंक घटेर २०७८.७० बिन्दुमा झरेको छ। शुक्रबार कारोबारमा आएका २२६ कम्पनीको ३८ लाख ४८ हजार कित्ता शेयर १ अर्ब ३० करोड ७३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

नेप्से परिसूचकमा उच्च अंकले गिरावट आउँदा सातामा नेप्सेको कुल बजार पुँजीकरण २ खर्बभन्दा बढी घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब ६६ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पुँजीकरण घटेर २९ खर्ब ५९ अर्बमा सीमित भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*