बेलायतका प्रधानमन्त्री जोनसनले विश्वासको मत लिदै

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार आफ्नो पार्टी नेतृत्वका लागि विश्वासको मत लिँदै छन् ।

हाल उनी अध्यक्ष रहेको कन्जरभेटिभ पार्टीका केही सांसदले नै अविश्वास रहेको भन्दै संसदीय दलमा प्रश्न गरेपछि विश्वासको मतको सामना गर्नुपर्ने भएको हो ।

प्रधानमन्त्री जोनसनलाई बहुमतको विश्वास रहे नरहेकोबारे ब्रिटिश समय अनुसार सोमबार साँझ मतदान हुँदै छ । उनले आफ्नो दलका सांसदहरुको विश्वास गुमाए प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने छ ।

कन्जरभेटिभ पार्टीका ५४ सांसदले माग गरेपछि जोनसनले विश्वासको मतको परीक्षण गर्न लाग्नु भएको हो । उनलाई प्रधानमन्त्रीबाट हटाउन कन्जरभेटिभ पार्टीका १ सय ८० सांसदहरू मध्ये बहुमतले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्नुपर्ने हुन्छ । मन्त्रिपरिषद्का २२ जना सदस्यमध्ये १६ जनाले जोनसनको पक्षमा मतदान गर्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।

मतदान अघि जोनसनको टोलीले पार्टीका सांसदहरूलाई उनलाई समर्थन गर्नुपर्ने कारणबारे एउटा सन्देश पठाएको छ । प्रधानमन्त्री कार्यालयले आफ्नो बारे दलका सांसदहरुलाई स्पष्ट गर्ने र महिनौं देखिको अनुमान अन्त्य गर्ने अवसरको रूपमा जोनसनले यसलाई स्वागत गर्ने जनाएको छ ।

लकडाउनको समयमा आफ्नो जन्मदिन मनाउन प्रधानमन्त्री कार्यालय रहेको डाउनिङ स्ट्रिटमा पार्टी गरेको भन्ने विवरण सार्वजनिक हुँदा उत्पन्न आक्रोशपछि जोनसनबारे उनको संसदीय दलभित्र मतदान हुन लागेको हो ।

कोरोनाभाइरस महामारीबीच प्रधानमन्त्री कार्यालयमा मात्र नभई अन्य सरकारी विभागमा समेत मनोरञ्जनका लागि जमघट भएको पाइएपछि उहाँलाई ५० पाउण्ड जरिवाना गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*