भारततर्फ ३६४ मेगावाट बिजुली निर्यात सुरू

काठमाडौं । नेपालबाट भारततर्फ ३६४ मेगावाट विद्युत निर्यात सुरू भएको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबार रातिदेखि भारततर्फ स्वीकृति पाए जति विद्युत निर्यात सुरू गरेको हो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत गत १९ जेठबाट भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दर बिक्री सुरु गरेको थियो । भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आइएक्स मार्केटमा बिक्री गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको थियो ।

गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्र जारी भएको थियो । त्यसलगत्तै विद्युत प्राधिकरणले थप ४ जलविद्युत गृहबाट उत्पादित विद्युत भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो ।

शुक्रबारबाट निजी क्षेत्रको ग्रीन भेन्चर्सको लिखु–४ बाट उत्पादित विद्युत निर्यात भएसँगै स्वीकृति पाएजति विद्युत भारतीय बजारमा बिक्री सुरु भएको हो । प्राधिकरणको स्वामित्वका त्रिशूली तथा देवीघाटको ३७.७ मेगावाट, कालीगण्डकी ए को १४० मेगावाट, मध्य मर्स्याङ्दीको ६८ मेगावाट, मर्स्याङ्दीको ६७ मेगावाट र निजी क्षेत्रको लिखु–४ बाट उत्पादित ५१ मेगावाट विद्युत दैनिक रुपमा भारतीय बजारमा निर्यात भइरहेको छ ।

पानी परेसँगै नदी नालामा पानीको वहाव बढेर विद्युतगृहहरु पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको विद्युत ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत दैनिक रुपमा भारतीय बजारमा निर्यात भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्यातका लागि स्वीकृति पाएका सबै आयोजनाको विद्युत भारतीय बजारमा बिक्री हुन थाल्नु दुई मुलुक बीचको विद्युत व्यापारका लागि कोशेढुंगा भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*