मकवानपुरमा विभिन्न सवारी दुर्घटनामा ७० जनाको मृत्यु

हेटौंडा । मकवानपुरमा गत आर्थिक वर्ष २०७८/०७९ मा सवारी साधन दुर्घटना हुँदा ७० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार जिल्लामा विभिन्न सवारी दुर्घटनामा परेर ६३ पुरुष, ४ महिला, एक बालक र एक बालिकाको ज्यान गएको हो ।

गत आर्थिक वर्षको सुरुको महिना साउनमा २५ सवारी साधन दुर्घटना भएकोमा चार जनाको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ । यस्तै भदौमा १५ सवारी साधन दुर्घटना भएकोमा दुई जनाको मृत्यु भएको छ । असोजमा ३० सवारी साधन दुर्घटना भएकोमा ५ जनाको मृत्यु र कार्तिक महिनामा ३० सवारी साधन दुर्घटना भएकोमा ११ जनाको मृत्यु भएको तथ्याङ्क छ ।

यस्तै, मंसिर महिनामा १९ सवारी साधन दुर्घटना भएकोमा तीन जनाको मृत्यु, पौषमा २२ सवारी साधन दुर्घटना हुँदा चारको मृत्यु, माघमा २८ सवारी साधन दुर्घटना भएकोमा सात जनाको मृत्यु र फागुनमा ४१ सवारी साधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको तथ्याङ्क छ । चैत महिनामा २२ सवारी साधन दुर्घटना भएकोमा छ जनाको मृत्यु, बैशाखमा २५ सवारी साधन दुर्घटना हुँदा छ जनाको मृत्यु, जेठ महिनामा ३४ वटा सवारी साधन दुर्घटना हुँदा १३ जनाको मृत्यु र असारमा २६ वटा सवारी साधन दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुनेन्द्र थापाले वर्षायाम र चाडपर्वको समयमा सवारी दुर्घटना अत्याधिक हुने बताउनुभयो । वर्षायामको समयमा सवारी चाप कम भएपनि सवारी साधन दुर्घटनाको अवस्था बढ्ने थापाले बताउनुभयो । वर्षायामको समयमा सडकहरु हिलो तथा चिप्लो हुने र पानी पर्दा नियन्त्रण गर्न नसक्ने गरी सवारी साधन चलाउनाले दुर्घटना निम्तिने थापाको भनाई छ ।

चाडपर्वको समयमा बढी भिडभाड हुने, मदिरा सेवन गरी सवारी साधन चलाउने हुँदा दुर्घटना बढी हुने उहाँले बताउनुभयो । मकवानपुरमा सवारी दुर्घना बढी हुनुको प्रमुुख कारण सडक साँघुरो र अत्याधिक सवारी चाप रहेकोे थापाले बताउनुभयो । सवारी दुर्घटनालाई कम गर्न सडक चौडा र फराकिलो बनाउनुपर्नेमा थापाले जोड दिनुभयो । सडक चौडा भएमा अव्यस्थित पार्किङ हट्ने, सवारी दुर्घटना कम हुने र यात्रुले सहजरुपमा आवतजावत गर्न सकिने थापाको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*