ब्यापार घाटा ३७ प्रतिशतले बढ्यो

वीरगञ्ज – गत आर्थिक वर्ष २०७८/७९ मा मुलुकको प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सार नाका भएर कुल ४४ वटा देशहरूसँग नेपालले वैदेशिक ब्यापार गरेको छ।

आर्थिक वर्षमा यस नाका वैदेशिक ब्यापार गरेका ४४ मध्ये नेपाललाई ३९ वटा देशहरूसँग ब्यापार घाटा भएको वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्याँकमा जनाइएको छ।

देशमा आयात हुने मुख्य वस्तुहरू यसै नाकाबाट भित्रिने गरेको तथा निर्यात निक्कै कम हुने गरेका कारण वीरगञ्ज नाकाबाट वर्षेनी वैदेशी राष्ट्रहरूसँग नेपाललाई हुने गरेको ब्यापार घाटा बढ्दै गएको छ। गत आर्थिक वर्षमा नेपाललाई वीरगञ्ज नाका भएर ३९ वटा विदेशी मुलुकहरूसँग कुल ६ खर्ब २५ अर्ब ७९ करोड ९० लाख ५३ हजारको ब्यापार घाटा भएको छ।

यो ब्यापार घाटा अघिल्लो आर्थिक वर्ष २०७७र७८ को भन्दा ३७ प्रतिशतले बढी रहेको भन्सार कार्यालय वीरगञ्जले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा नेपाललाई यो नाका भएर ४ खर्ब ५८ अर्ब ९ करोड ८७ लाख ५६ हजारको ब्यापार घाटा भएको थियो।

गत आर्थिक वर्षमा नेपाललाई ब्यापार घाटा हुने मुख्य पाँच विदेशी राष्ट्रहरूमा भारत, चिन, ईन्डोनेसिया, ब्राजिल र अस्ट्रलीया रहेका छन्। गत आर्थिक वर्षमा भारतसँग नेपाललाई सबैभन्दा बढी ४ खर्ब ४८ अर्ब ३५ करोड ८ लाख २० हजार बराबरको ब्यापार घाटा भएको वीरगञ्ज भन्सारको तथ्याँकमा उल्लेख रहेको छ।

यस्तै, चिनसँग ४३ अर्ब ३० करोड ८९ लाख ३ हजार, ईन्डोनेसियासँग २८ अर्ब ७६ करोड ४७ लाख २९ हजार, ब्राजिलसित ६ अर्ब ८८ करोड ४१ लाख ८० हजार र अस्ट्रेलियासँग ६ अर्ब २८ करोड ७७ लाख ५ हजार बराबरको ब्यापार घाटा नेपालले बेहोर्नुपरेको छ।

ब्यापार घाटा हुने अन्य देशहरूमा साउथ अफ्रिकासँग ४ अर्ब ३६ करोड ६४ लाख ३८ हजार,सिँगापुरसँग ४ अर्ब २ करोड ५८ लाख ९४ हजार,थाईलैण्डसँग ३ अर्ब ५६ करोड १४ लाख ९२ हजार,कोरियासँग ३ अर्ब २५ लाख ८९ हजार ब्यापार घाटा भएको छ। गत आर्थिक वर्ष २०७८र७९ मा ४४ वटा देशहरूसँग ब्यापार गरेको नेपाललाई पाँच वटा राष्ट्रहरूसँग भने ब्यापारमा नाफा भएको छ।

नेपाललाई सबैभन्दा बढी नर्वेसँग ५ करोड १८ लाख ६२ हजार ब्यापार नाफा भएको छ। त्यस्तै आयरलैण्डसँग एक करोड ४ लाख ६९ हजार, नाईजरसँग ४५ लाख ७२ हजार, क्रोएसियासँग २९ लाख २१ हजार र जमैकासित ६ लाख १४ हजारको ब्यापार नाफा भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*