सहकारी सञ्चालक ४० लाख बढी लिएर फरार भएपछि बचतकर्ताहरुको बिचल्ली

काठमाडौं । सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपैयाँ बढी रकम लिएर फरार भएपछि बचतकर्ताहरुको बिचल्ली भएको छ ।

४ वर्ष बित्दासमेत आफूहरुले जम्मा गरेको बचत सहकारीबाट फिर्ता नपाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । रकम फिर्ताको माग गर्दै सरोकारवाला निकाय धाउँदा हैरान भएकोले अन्तिम विकल्पका रुपमा सडक आन्दोलन रोजेको बताए ।

आन्दोलित बचतकर्ताले पूर्व–पश्चिम राजमार्गको भाण्टाबारी खण्डमा सडक अवरोध गरेर प्रदर्शन समेत गरेका छन् । उनीहरुले भाण्टाबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक ३०० बढी बचतकर्ताको रकम लिएर फरार भएको आरोप लगाएका छन् ।

पासबुकसहित बन्द रहेको कार्यालय अगाडि भेला भएका बचतकर्ताहरुले बचत गरेको रकम अविलम्ब फिर्ता नपाए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् ।

यता, सहकारी संस्थाका एजेन्टका रुपमा रहेका बचत संकलनकर्ता सूर्यनारायण साहूले आफूले स्थानीयबाट बचत संकलन गरी रकम जम्मा गरेपनि सहकारी संस्थाले भुक्तानी दिन भने आनाकानी गर्दा समस्या निम्तेको बताउनुभयो । आफू बारम्बार बचतकर्ताको निशानामा पर्दासमेत सहकारीका सञ्चालकले बेवास्ता गरेको उहाँको भनाई छ । साहूले अहिले आएर सञ्चालकले उल्टै आफूमाथि रकम नै जम्मा नगरेको भनि आरोप लगाउन थालेको बताउनुभयो ।

सहकारी संस्थाका सञ्चालक समूहले भने बचतकर्ताबाट संकलित रकम लगानी गरेको हुँदा रकम उठ्न ढिला भएकाले भुक्तानी दिन समस्या परेको बताएको छ ।

संचालक समितिका अध्यक्ष मनोज यादवले संस्थाले प्रवाह गरेको ऋण र जम्मा गरेको रकमका सवालमा बचतकर्तासँग मतभेदको अवस्था श्रृजना हुनपुग्दा अवस्था असहज बन्न पुगेको बताउनुभयो । उहाँले अडिट रिर्पोट प्राप्त हुनासाथ बचतकर्ताको रकम फिर्ता दिइने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*