देशभर भाइरल ज्वरोका बिरामी बढ्न थाले

काठमाडौं । देशभरका अस्पतालहरुमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।

रुघाखोकी र ज्वरोका बिरामी बढ्न थालेपछि कतिपय ठाउँमा विद्यालयसमेत बन्द गरिएको छ । बिरामीको सङ्ख्या बढ्दा उपचारमा समेत समस्या भएको डाक्टरहरुले बताएका छन् । भाइरल ज्वरोका कारण इलामको विभिन्न पालिकामा रहेका विद्यालयहरु बन्द भइसकेका छन् ।

त्यस्तै, डोटीमा पनि बिरामीको सङ्ख्या बढेपछि उपचारमा समस्या भएको डाक्टरहरुले बताएका छन् । डोटीमा उपचारका लागि आउने बिरामीमध्ये ६० देखि ७० प्रतिशत बिरामी भाइरल ज्वरोका भएका शैलेश्वरी अस्पताल दिपायलले जनाएको छ । त्यस्तै काठमाडौंमा पनि भाइरल ज्वरोका बिरामी बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, हातखुट्टा करकर खाने, छाति र घाँटी दुख्ने लगायतका लक्षण बिरामीमा देखिने गरेको छ।

बालबालिकालाई ज्वरो आउने, ज्वरो घट्ने, शरीरका केही भागमा तापक्रम बढेपनि केही भागमा चिसोपना नै रहनेलगायतका लक्षण देखिएको छ । कतिपय बिरामीमा अधिक टाउको दुख्ने, बान्ता हुने लक्षणसमेत देखापरेको छ । डाक्टरले भीडभाडमा नजान र मास्कको प्रयोग गर्न सुझाव दिंदै आएका छन् । पानी उमालेर मात्र पिउन र बासी सडेगलेका खानेकुरा नखान समेत डाक्टरहरुले सुझाव दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*