काभ्रेस्थली घटना : छोरी आशिका स्कुल बस चढ्न नआएपछि खुलेको थियो

घटनास्थलमा ‘सुसाइड नोट’फेला

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थली, पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका-६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षकी सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका घरमै मृत भेटिएका हुन् ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरुका अनुसार दिनेशले श्रीमती र छोराछोरीको हत्या गरेर आत्महत्या गरेको आशंका गरिएको छ । घटनास्थलमा ‘सुसाइड नोट’ पनि भेटिएको छ, जुन दिनेशको भएको मानिएको छ ।

स्थानीयका अनुसार आशिक काभ्रेस्थलीको युनाइटेड स्कुलमा पढ्थे भने छोरी आशिका आर्मी स्कुलमा । अरु दिन झै सोमबार पनि आर्मी स्कुलको गाडी आशिकालाई लिन घर अगाडि पुगेको थियो । तर उनी बाहिर आइनन् । नजिकै घर भएका साथीले बोलाउँदा पनि परिवारका सदस्यहरु समेत नबोलेपछि स्थानीय भेला भएका थिए ।

बाक्लो बस्ती भएका कारण क्षणभरै मानिस जम्मा भए । प्रहरीलाई खबर गरे । प्रहरीले ढोका खोलेर हेर्दा परिवारका सदस्यको शव विभत्स अवस्थामा भेटिएको छ ।

स्थानीय दुर्गा कार्कीका अनुसार दिनेश र सुनिताबीच पछिल्लो समय विवाद हुने गरेको थियो । प्रहरीको बलाजु वृत्तसम्म घटना पुगेको थियो । स्थानीयले पनि मिलाउने प्रयास गरेका थिए । तर विवाद नमिलेपछि दिनेशले सम्बन्धविच्छेद मागेका थिए ।

सुनिताले भने छोराछोरीका लागि भएपनि सम्बन्धविच्छेद नगर्ने बताएकी उनीहरुलाई नजिकबाट चिन्नेहरु बताउँछन् । बरु आफैं वैदेशिक रोजगारीमा जाने भनेर बेलायतको सिजनल भिसाका लागि निवेदन दिएकी थिइन् ।

उनको भिषा समेत लागेको थियो । बेलायत जाने तयारीकै क्रममा उनले पेन्सी पसल बेचेकी थिइन् भने सहकारीमा राखेको रकम झिकेर खाता बन्द गरेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*