म्याग्दी पहिरो अपडेट – थप तीन जनाको शव फेला , एकै परिवारका पाँच जनाको मृत्यु

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परेर बेपत्ता थप तीन जनाको शव भेटिएको छ ।

मंगलबार विहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहीन भएका एकै परिवारका तीन जनाको शव पुरिएको अवस्थामा भेटिएको वडा सदस्य भक्तबहादुर पुनले जानकारी दिनुभयो ।

‘पहिरोबाट निकालिएको छ, मृतक सबै एकै परिवारका हुन्, विहान दुई जनाको शव भेटिएको थियो, अहिले तीन जनाको भेटिएको छ’, वडा सदस्य पुनले भन्नुभयो ।

खोज तथा उद्धारमा विहानैदेखि खटिए पनि भारी वर्षा र निरन्तर खसिरहेको पहिरोले उद्धारमा समस्या भएको थियो ।

पहिरोमा पुरिएको अवस्थामा विहान नविन र रुजन विकको शव निकालिएको हो भने केहीबेर अघि मात्र घामबहादुर, राजु र रोजीको शवसमेत निकालेर कानूनी प्रक्रिया थालिएको छ ।

वेपत्ता भएका उनीहरूको खोजीका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोलीसहित स्थानीय घटनास्थलमा पुगेका थिए ।

बस्तीमाथिबाट पहिरो खसेको आवाज आएपछि भाग्दाभाग्दै गोठे र गोरी विक घाइते भएका थिए । पहिरोस्थलबाटै गोरीको उद्धार गरिएको थियो भने गोठे नजिकै घाइते अवस्थामा भेटिएका थिए ।

‘घरका सबै निन्द्रामा भाग्दाभाग्दै पहिरोमा परे, एकैपटक आएर घर पुर्यो’, घाइते अवस्थामा भेटिएकाको भनाइ उद्धृत गर्दै वडासदस्य भक्तिबहादुर घर्तीले भन्नुभयो ।

घाइतेको रुम स्वास्थ्य चौकीमा उपचार गरी थप उपचारका लागि दरबाङ पठाउने तयारी भइरहेको छ ।

मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले पहिरोमा परेर ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचार र मृतकको परिवारलाई समेत राहत उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

यसैबीच बाढीपहिरोको जोखिममा रहेकालाई सुरक्षित स्थानमा जान समेत अनुरोध गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*