मकवानपुरका एक वडाध्यक्ष ३१ वर्षपछि ११ कक्षामा भर्ना भए

हेटौंडा । मकवानपुरका एक वडाध्यक्ष ३१ वर्षपछि पुनः औपचारिक शिक्षामा फर्किएका छन् । जिल्लाको मनहरी १ का ५१ वर्षीय वडाध्यक्ष शिवप्रसाद खनाल एसएलसी पास गरेको ३१ वर्षपछि कक्षा ११ मा भर्ना भएका हुन् । २०४८ सालमा बारा कलैयाको सिद्देश्वर संस्कृत विद्यालयबाट द्धितिय श्रेणीमा एसएलसी पास गरेका खनाल लामो समयपछि पहिलो पटक कक्षा ११ मा भर्ना भएका हुन् ।

उनि आफ्नै वडाको बाल जिवन ज्वोति विद्यालयको कक्षा ११ मा भर्ना हुने पहिलो विद्यार्थी समेत बनेका छन्। एसएलसी पछि पारिवारिक आर्थिक समस्याको कारण आफ्नो औपचारिक शिक्षालाई रोकेका खनाल कक्षा ११ मा भर्ना भएपछि उत्साही छन्।

आफ्नै वडाको विद्यालय समितिका अध्यक्ष समेत रहेका खनालले गाउँको विद्यालयबाट एसईई पास गरेका विद्यार्थीहरुलाई गाउँमै उच्च शिक्षा दिन लाग्दा खुशी रहेको बताउँछन् । उनले आफुले यसअघि २०४८ सालमा एसएलसी पासपछि अध्ययनलाई अघि बढाउँन नसक्दा अहिले पछुतो भएको महसुस गरेको बताए ।

‘त्यतिखेर पारिवारिक आर्थिक समस्याको कारण पढाई रोक्नु पर्यो । पहिलेको शिक्षा र अहिलेको शिक्षामा धेरै भिन्नता भइसक्यो । अहिले शिक्षा विना कुनै काम अघि बढाउन नसकिने महसुस गर्दै छु । वडाध्यक्ष खनालले भने,शिक्षा अत्यावश्यक महत्वपूर्ण आवश्यक छ । समाज परिवर्तनको लागि म मोटिभेटर (उत्प्रेरक)का रुपमा शिक्षालाई अघि बढाउन चाहान्छु ।’

उनले आफ्ना दुबै छोराहरुले कक्षा १२ पास गरेर प्राविधिक शिक्षा अध्ययन गरिरहेको बताउँदै आफु पनि कक्षा १२ सम्मको कक्षा पढ्ने बताए । ‘प्लस टु पास गर्ने ईच्छा छ । शिक्षा संकाय लियर कक्षा ११ मा भर्खर भर्ना भएको छु । खनालले भने,पढाईको नतिजा कस्तो आउँछ । त्यसको नतिजा अनुसार अघि बढ्नेछु ।’

खनाल २०७४ साल र २०७९ सालमा क्रमशः भएको पहिलो र दोस्रो दुबै स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित भएका जनप्रतिनिधि समेत हुन् ।

विद्यालयमा उच्च शिक्षा अन्तर्गत कक्षा ११ संचालन हुनेभएपछि एसईई पासपछि घर,गाउँबाट टाढा भएर हेटौंडा बजार आएर पढ्नु पर्ने तथा आर्थिक अवस्था कमजोर भएकाहरुले पढाईलाई बीचबाटो बाटै छोड्नुपर्ने समस्याको अन्त्य हुने विद्यालयका प्रधानध्यापक एकराज गौतम बताउँछन् । विसं २०१९ सालमा स्थापना भएको बाल ज्वति माविमा पहिलो पटक उच्च शिक्षा अन्तर्गत कक्षा ११ मा शिक्षा र व्यवस्थापन संकाय पढाई हुने प्रधानध्यापक गौतमले बताए । करिब साँडे ५ सय विद्यार्थी रहेको उक्त विद्यालयमा कक्षा ११ कक्षा संचालन भएपछि ६ सय बढी विद्यार्थी संख्या पुग्ने प्रधानध्यापक गौतमको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*