नयाँ दिल्लीमा २ वटा ४० तले टावर आज भत्काइदै
काठमाडौं । भारतको नयाँ दिल्लीमा नजिकै आचारसंहिता विपरित बनेका निर्माण गरिएका दुई वटा गगनचुम्बी भवन आइतबार दिउँसो बम विष्फोट गराएर भत्काइने भएको छ ।
निजी कम्पनी सुपरटेकले आचारसंहित विपरित गगनचुम्बी टावर बनाएको भन्दै भारतको सर्वोच्च अदालतले यी टावर ढाल्न आदेश दिएकाले सरकारले आइतबार दिउँसो साढे २ बजे टावर भत्काउने तयारी गरेको हो । एपेक्स र सियान नाम गरेका ४०–४० तले यी भवन बिग ब्लास्टबाट १० सेकेण्डभित्र भत्काइने भएको छ ।
टावर भत्काउन भवनहरुभित्र ३ हजार ७ सय किलो विष्फोटक पदार्थ जडान गरिएको छ । टावर ढाल्ने कामका लागि तीन देशका इञ्जिनियरहरु खटिएका छन् । साढे ७ लाख बर्गफिटको क्षेत्रफल ओगटेका यी टावरभित्र ९ सय वटा फ्याट रहेका छन् । टावर भत्काउनका लागि आइतबार नोएडाको सेक्टर ९३ क्षेत्रका ७ हजार स्थानीयलाई अन्यत्र सारिएको छ । साथै निजी घरहरु खाली गराइएको छ ।
त्यस क्षेत्रमा जाने सवारी साधनहरुलाई बिहान सात बजेदेखि रोकिएको छ । दिउँसोका लागि वायु सेना र विमानस्थललाई पनि पूर्वसतर्कता अपनाउन भनिएको छ । ३ अर्बको लगानीमा साढे ३ वर्ष लगाएर निर्माण गरिएका सोही टावर भत्काउन २० करोड खर्च हुने छ ।
भत्काउन लाग्ने उक्त खर्च पनि निर्माण कम्पनीबाटै असुल्न पनि सर्वोच्च अदालतले आदेश दिएको छ । यी टावरको अहिलेको बजार भाउ १० अर्ब भारु पुगेको छ । ११–११ तलाका १६ वटा टावर बनाउने अनुमति लिएको कम्पनीले नक्सा पास बिना नै ४० तले टावर बनाएपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।