पछिल्लो दिनहरुमा मकवानपुरमा डेंगीको संक्रमण बढ्यो

हेटौंडा । मकवानपुरमा पछिल्लो दिनहरुमा डेंगी संक्रमितका बिरामीहरु बढेका छन् ।

लामखुट्टेको टोकाईबाट हुने डेंगु रोग हालसम्म साउन यता ५ सय ५८ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । उनका अनुसार सबैभन्दा बढी संक्रमित जिल्लाको हेटौंडा उपमहानगरपालिका–४ र ५ नंबर वडाका रहेका छन् ।

साउनको तेस्रो साता सम्म २८ जनामा देखिएको डेंगी १६ भदौ सम्म आइपुग्दा संक्रमितको संख्या ५ सय ५८ जना पुगेको हो । गएको आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लामा १९५ जनामा मात्र संक्रमण देखिएको थियो । तर चालु आर्थिक वर्षको दुई महिनामै उक्त संख्या झण्डै तेब्बरले बढेको छ अर्थात ५ सय ५८ जना पुगेको छ ।

उनले जिल्लामा हालसम्म डेंगीको कारण कसैको पनि ज्यान नगएको तर अस्पताल र मेडिकलहरुमा भने डेंगी बिरामीको चाप बढेको बताए ।

जिल्लाको सरकारी अस्पताल हेटौंडा अस्पतालमा पछिल्लो दिनहरुमा डेंगीका लक्षणसहित ज्वरोका बिरामीहरुको संख्या पनि ह्वात्तै बढेको अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले बताए ।

उनले अस्पतालमा दैनिक एक सय माथि ज्वरोका बिरामीहरु उपचारको लागि आउनेमा डेंगु परीक्षणको लागि सिमित किट रहेको बताउँदै डेंगु परीक्षणको लागि बाहिरी मेडिकल पठाउनु परेको समेत बताए । जिल्लामा सरकारी अस्पताल,स्थानीय पालिकाहरु स्थित स्वास्थ्य संस्था तथा बजार क्षेत्रका प्राईभेट स्वास्थ्य क्लिनिकहरुमा डेंगु परीक्षण हुँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*