सडकमा पैदलयात्रीको पहिलो अधिकार स्थापित गर्छौ – बालेन शाह

काठमाडौँ – सडकमा पैदलयात्रीको पहिलो अधिकार स्थापित गर्न महानगर प्रतिवद्ध रहेको काठमाडौँ महानगरका मेयर बालेन शाहले बताएका छन् ।

उनले बिहीबार विज्ञप्ति निकालेर दसैँको सन्दर्भ भनेर पुटपाथको प्रयोग पैदल यात्रा बाहेक अन्य प्रयोजनका लागि दिन नसकिने उल्लेख गरेका छन् ।

फुटपाथ व्यापारलाई दसैँको सन्दर्भसँग जोडेर प्रकाशन-प्रशारण भएका समाचारप्रति महानगरले ध्यानाकर्षण भएको जनाएको छ ।

मेयर शाहले पैदलयात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप दीर्घकालीन रुपमा सञ्चालन गर्ने उल्लेख गरेका छन् ।

‘सडक व्यापारले पैदलमार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो । त्यसैले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ । यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

‘सडकमा पैदलयात्रीको पहिलो अधिकार रहन्छ । यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको छ । सहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने हाम्रो प्रतिवद्धता हो । यो कायम छ,’ मेयर शाहले विज्ञप्तिमार्फत भनेका हुन् ।

शहरी सरसफाईलाई पूर्ण सरसफाइसम्म पुर्याउने, सहरी सुन्दरता कायम गराउने जस्ता विषयलाई नीतिगत व्यवस्था गरेर कार्यान्वयनका लागि कार्यक्रम सञ्चालन गरिरहेको जानकारी उनले विज्ञप्ति मार्फत दिएका छन् ।

आर्थिक वर्ष २०७९/८० को वार्षिक नीतिअन्तर्गत पूर्वाधार विकास सम्बन्धी नीतिमा ‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइनेछ । फुटपाथमा मानव आवत-जावतबाहेकका सबै क्रियाकलापलाई निषेध गरिनेछ’ भन्ने व्यवस्था गरिएको उनले विज्ञप्तिमा स्मरण गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*