छठको दोस्रो दिन आज खरना मनाइँदै

जनकपुरधाम । सूर्य भगवान एवम् दिनानाथको पूजाआजा गरी अत्यन्त नियम निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ ।

आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खिर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ ।

दिनभर उपवास बसेका छठ व्रतालुले आज साँझ नियम निष्ठाकासाथ खिर बनाएर आफू ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यहरुलाई खान दिन्छन् ।

सन्तान एवं पारिवारिक सुखसमृद्धिको कामना गरी चारदिनसम्म मनाइने छठ व्रतालुहरुले नुहाएर अरबा अरबाइन एवं चोखो खाने खाएका कुरा खाएपछि शुक्रबार विधिवत रुपमा सुरु भएको हो । त्यस अघि व्रतालुहरुले माछा र कोदो बारेका थिए ।

भोली आइतबार छठ पर्वको मुख्य दिन रहेको छ । छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यको अर्घ दिइन्छ ।

चारदिनसम्म मुख्य विधि गरी मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोस्रो दिन प्रसादको रुपमा खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि समापन हुने गर्दछ ।

छठको मुख्य दिन अर्थात अस्ताउँदो सूर्यको अर्घ दिने दिनलाई सौझकारक र अन्तिम दिन अर्थात उदउँदो सूर्यलाई अर्घ दिने दिनलाई पारन भनिन्छ ।

यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हातीलागयतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।

अर्घ दिने व्रतालु ४८ घन्टासम्म पानी पनि नखाइ उपवास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*