हरिबोधिनी एकादशीमा मकवानपुरगढी र त्रिखण्डीमा बिशेष मेला

हेटौंडा । हरिबोधिनी एकादशीका अवसरमा आज मकवानपुरको मकवानपुरगढी र भीमफेदी गाउँपालिकाको त्रिखण्डी मन्दिरमा बिशेष मेला लागेको छ । बिहानै देखि भक्तजनहरुको भिड लागेको छ । कार्तिक शुक्ल एकादशी। सनातन धर्मावलम्बी शुक्रबार हरिबोधिनी एकादशी मनाउँदै छन्।

भगवान् विष्णुको विशेष आराधना गर्ने र तुलसीको विवाह गर्ने दिनको रूपमा यसको महत्त्व छ। मकवानपुरगढी र त्रिखण्डी मन्दिरमा पुजा गर्ने र मेला हेर्न आउनेहरुको बिहानै देखि भीड बढ्न थालेको छ । दुवै स्थानमा सुरक्षाकर्मी बिहानैबाट परिचालन गरिएको छ ।

सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँगै विवाह गरिदिने चलन छ।

एकादशीका दिन उपवास बसी नारायणको आराधना गर्ने र भोलिपल्ट द्वादशीमा द्वादशीमा हवन गरी विसर्जन गरिन्छ। यसै दिन नवान्न (नयाँ अन्न) को हवन गर्ने नेपाली परम्परा छ।

आषाढ शुक्ल एकादशीको दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु यो दिन उठ्ने पौराणिक मान्यता छ। त्यसैले यो दिनलाई हरिबोधिनी एकादशी भनिएको पुराणमा उल्लेख छ। विष्णुको अर्को नाम हरि हो। शयन अर्थात् सुत्ने कार्य। बोधको अर्थ हुन्छ उठ्ने। यसैले यी दुई एकादशीको महत्त्व विशेष छ। यी दुई एकादशीलाई ‘ठूली एकादशी’ पनि भनिन्छ।

अन्य एकादशीमा भन्दा यो दिन गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने भविष्योत्तर पुराणमा उल्लेख छ। भगवान् कृष्णले युधिष्ठिरलाई यो दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*