बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर रोशनी र शरदको मृत्यु भएको प्रारम्भिक पुष्टि

दाङ। तुलसीपुर-१३ की रोशनी महतरा र दंगीशरण-६ थपगाउँका शरद आचार्य विद्युतीय पासोमा पारेर मृत्यु भएको घटना विवरण प्रहरीले सार्वजनिक गरेको छ।

विद्युतीय धराप थाप्ने चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले पच्चीस दिनपछि अनुसन्धानलाई निष्कर्समा पुर्‍याउँदै आरोपितलाई सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी प्रमुख वीरबहादुर ‌ओलीले जानकारी दिए।

प्रहरीले घटनामा संलग्न रहेको भन्दै तुलसीपुर-१३ का ३९ वर्षीय गणेश भन्ने हरिशचन्द्र पौडेल, वर्ष ३८ का नुमानन्द कार्की, वर्ष ३१ का खिमबहादुर बुढा र प्रकाश भन्ने वर्ष ४७ का अमरराज कार्कीलाई सार्वजनिक गरेको हो।

पक्राउ परेका चारैजनालाई प्रहरीले कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ। उनीहरूलाई कर्तव्य ज्यानसम्बन्धी कसुरको सजाय माग गर्दै कारवाही प्रक्रिया सुरु गरेको छ।

कारबाहीका लागि प्रहरीले आइतबार पाँच दिनको समय प्राप्त गरेको छ। जिल्ला अदालत दाङले प्रहरीलाई पहिलो चरणमा पाँच दिनको समय दिएको छ।

उनीहरूले जंगली जनावरको शिकार गर्ने मनसायले विद्युतीय पासो थापेका थिए। घटनामा संलग्न भनिएका चारजनाले नै हरिशचन्द्र पौडेलको कुखुराको खोरबाट विद्युत लगेर नजिकै रहेको जनकल्याण सामुदायिक वन समूहको छेउमा असोज २७ गते बेलुका पासो थापेका थिए। सोही रात रोशनी र शरद पासोमा परेको प्रहरीले जनाएको छ। सोही विद्युतीय पासोमा परेर रोशनी महतरा र शरद आचार्यको निधन भएको हो।

पासोमा परेर उनीहरू असोज २७ गते नै निधन भएको प्रहरीले जनाएको छ। पासो थापेको अर्को दिन हेर्न जाँदा हरिशचन्द्र पौडेलले रोशनी महतरा र शरद आचार्यको शव देखेको, उनै पौडेल र अमरराज कार्कीबीच कुराकानी भएर शव व्यवस्थापनमा लागेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ।

शव व्यवस्थापन गर्ने क्रममा उनीहरूले कसैलाई जानकारी नगराउने र सोही बमोजिम शवको व्यवस्थापन गरेको प्रहरीले जनाएको छ। सल्लाहअनुसार उनीहरूले असोज २८ गते बेलुका ८ बजे सोही जंगलको ८० मिटर पश्चिम क्षेत्रमा रोशनी र शरदको शव चिरामा गाडेको बयान प्रहरीलाई दिएका छन्।

प्रहरीले चार जनाले शव व्यवस्थापनका लागि प्रयोग गरेका सामान तथा विद्युतीय पासोका लागि प्रयोग भएका सामानसमेत सार्वजनिक गरेको छ। उनीहरूबाट प्रहरीले करेन्ट लगाउन प्रयोग भएको ७६ मिटर वायरिङ तार, सातवटा बाँसका किला, फलामको बाइन्डिङ तार, खन्नका लागि प्रयोग भएको फरुवा, शव बोक्नका लागि प्रयोग भएको कुखुराको दाना राख्ने बोरा ९जलेर डल्लो० परेको समेत बरामद गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*