हेटौंडा उपमहानगर र घरजग्गा व्यवसायीबीच सहमति , फिर्ता भयो आन्दोलनका कार्यक्रम

हेटौंडा । घरजग्गा व्यवसायी र हेटौंडा उपमहानगरपालिकाबीच बुधबार बिहान सहमति भएको छ । जग्गाको कित्ताकाट खुलाउन उपमहानगरपालिका सहमत भएपछि व्यवसायीले आज बुधबारदेखिका आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । व्यवसायी र उपमहानगरबीच भएको सहमतिको विषयमा बुधबार बिहान मकवानपुर उद्योग वाणिज्य संघको सभा हलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो ।

जमिनको वर्गीकरण गरेर मापदण्डअनुसार कित्ताकाट खुला गर्न व्यवसायीले माग गर्दा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले सहमति नजनाएको र उल्टै व्यवसायीमाथि दुव्र्यवहार भएको भन्दै व्यवसायी आन्दोलित भएका थिए । बुधबार बिहान राजनीतिक दलका प्रतिनिधि समेतको उपस्थितिमा आसन्न प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचन सकिएलगत्तै बस्ने पहिलो कार्यपालिका बैठकबाट कित्ताकाट खुला गर्ने मौखिक सहमति भएको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता समेत रहनुभएका १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिनुभयो ।

कित्ताकाट रोक्का हुनु घरजग्गा व्यवसायीको मात्रै मुद्दा या समस्या नभएर सबै नागरिकको समस्याको विषय भएको उल्लेख गर्नुहुँदै मकवानपुर घरजजग्गा व्यवसायी संघका अध्यक्ष ध्रुव घिमिरेले व्यवसायी र नगरवासीको समस्यामा मेयर र उपमहानगरपालिकाको कार्यालय सकारात्मक भएपछि व्यवसायीले सहमति गरेर आन्दोलनको कार्यक्रम फिर्ता लिएको जानकारी दिनुभयो । मकवानपुर घर जग्गा व्यवसायी संघका सल्लाहकार हेम अधिकारीले व्यवसायीका जायज समस्यालाई स्थानीय सरकारले बेवास्ता गर्न नहुने उल्लेख गर्नुभयो । व्यवसायी चरम समस्यामा रहेका बेला स्थानीय सरकारले सहयोग र सहकार्य गर्नुपर्ने उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा ६ नम्बर वडा अध्यक्ष विष्णु बहादुर दाहाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको पनि उपस्थिति रहेको थियो । व्यवसायीले उपमहानगरपालिकाको प्रवेशद्वारमा ताला लगाउने, मेयर तथा उपमेयरको कार्यकक्षमा ताला लगाउनेसम्मका आन्दोलन घोषणा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*