मकवानपुरमा बालसंरक्षणको सवाल चुनौतीपूर्ण बन्दै

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले बालसंरक्षणको सवाल चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको छ । सोमबार सिविन बाल हेल्पलाइन मकवानपुरको आयोजनामा भएको बाल अधिकार, बालसंरक्षण विषयक प्रदेशस्तरीय छलफललाई सम्बोधन गर्नुहुँदै उहाँले बालबालिकाको क्षेत्रमा काम गर्न बलियो नीति नहुँदा बाल संरक्षणमा चुनौती रहेको बताउनुभयो ।

बालबालिकाको व्यवस्थापन र अनिवार्य शिक्षा कार्यान्वयनमा समस्या रहेको बताउनुहुँदै केही सिक्ने उमेरका बालबालिकाहरू लागुऔषध दुर्व्यसनले सुधारगृहमा रहेको जानकारी दिनुभयो । कार्यक्रममा बाल हेल्प लाइनका प्रमुख झविन्द्र ज्ञवालीले बाल संरक्षणको सवालमा कानुन बनेको तर कार्यान्वयन, समन्वय र बाल अधिकार समितिको क्रियाशीलता नभएको गुनासो गर्नुभयो ।

मकवानपुरका बालसुधार गृहमा ५९ जना बालक रहेको जानकारी दिनुहुँदै ती सुधारगृह बालमैत्री नभएको उहाँको दावी छ । यस्तै सामाजिक विकास मन्त्रालयका सचिव रामशरण सापकोटाले कुनै पनि प्रलोभनबाट बालबालिका प्रभावित हुन नदिन सरकारले कार्य गर्दै आएको दावी गर्नुभयो । बालबालिका समाजमा असुरक्षित हुने क्रम बढेको जानकारी दिनुहुँदै उहाँले तीन तहको सरकारले बालबालिका संरक्षणमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

यसैगरी सामाजिक विकास मन्त्रालय महिला बालबालिका महाशाखा प्रमुख गोपालप्रसाद कंडेलले बालबालिकाको क्षेत्रमा देखिएको समस्या, कानुनी अवस्था, चुनौती तथा अवसरबारे सहजीकरण गर्नुभयो । करिब २ प्रतिशत बालबालिका अझै विद्यालय बाहिर रहेको उहाँले जानकारी दिनुभयो । अझै पनि सचेतनाको अभावले संरक्षणको लागि आवश्यक संरचनाहरू बन्न नसकेको उहाँले बताउनुभयो । बालबालिकाको पहुँच अभिबृद्धि समेत गर्न बाँकी रहेको भन्दै उहाँले बाल विवाह, बाल श्रमिक, बाल हिंसा न्यूनीकरणका लागि समन्वय गरिरहेको जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*