हेटौंडाको बुद्धचोकमा व्यवसायीको प्रदर्शन

हेटौंडा । मकवानपुरका व्यवसायीले हेटौंडाको बुद्धचोकमा प्रदर्शन गरेका छन् । बैंक तथा वित्तीय संस्थाले चर्को व्याजदर कायम गरेको, सरकारले आयातमा प्रतिबन्ध लगाएको, कर्जा नवीकरणमा भएको नयाँ व्यवस्थाको विरोध गर्दै हेटौंडाका अटोमोवाइल व्यवसायीले बिहीबार बुद्धचोकमा बिहान ११ बजेदेखि दिनको १२ बजेसम्म प्रदर्शन गर्दै पहिलो चरणको आन्दोलन टुंग्याएको छ ।

हेटौंडाको बुद्धचोकमा विरोध प्रदर्शन गर्दै पहिलो चरणको आन्दोलन टुंग्याउनुअघि व्यवसायीले सामाजिक सञ्जालमा विरोध जनाउने स्लोगन राख्ने, पसलमा विरोधको नारा लेखिएको व्यानर प्रदर्शन गरेका थिए । बैंक तथा वित्तीय संस्थाको व्याजदर एक अंकमा कायम गर्नुपर्ने, ऋणको नवीकरणमा सहजता हुनुपर्ने व्यवसायीको भनाइ छ । प्रदर्शनमा हेटौंडा अटोमोवाइल एसोसिएसनका अध्यक्ष दामोदर अटल, पूर्वअध्यक्ष सुरेश कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष सागर सापकोटा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्तालगायत व्यवसायीको सहभागिता रहेको थियो ।

अटोमोवाइल एसोसिएसनको राष्ट्रिय कार्यक्रमअन्तर्गत विरोध प्रदर्शनको कार्य गरिएको निवर्तमान अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । पहिलो चरणको आन्दोलनको कार्य पूरा भएसँगै दोस्रो चरणको आन्दोलनको कार्यक्रम केन्द्रले तय गर्ने उहाँको भनाइ छ । राष्ट्र बैंकको नीति, सरकारको अदूरर्शिता र बेवास्ता, बजारमा देखिएको मन्दिबाट सबै व्यवसायी प्रभावित भए पनि अहिले अटोमोवाइल एसोसिएसनले मात्रै आन्दोलन गरिरहेको पनि सापकोटाले स्पष्ट पार्नुभयो । मकवानपुर जिल्लामा २ सय भन्दा बढी अटोमोवाइल व्यवसायी भए पनि हेटौंडा अटोमोवाइल एसोसिएसनमा १ सय २० जना व्यवसायी मात्रै सदस्य छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*