मेयर बालेन साह फुटबल मैदानमा उत्रिए
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह सोमबार बिहान दशरथ रंगशालामा खेलाडीको रुपमा मैदानमा उत्रिनु भएको छ ।
२८ औं महानगर दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको फुटबल प्रतियोगितामा मेयर बालेन मैदानमा उत्रिनु भएको हो ।
‘२८ औं महानगर दिवस-२०७९ मेयर–११ र प्रमुख प्रशासकीय अधिकृत–११ मैत्रीपूर्ण फुटबल’ नाम दिइएको सो प्रतियोगितामा प्रमुख प्रशासकीय अधिकृत–११ ले मेयर–११ लाई ६–१ ले हराएको थियो ।
मेयर बालेन नेतृत्वमा जनप्रतिनिधि र अर्को टिमबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले नेतृत्वमा खेल भएको थियो । मेयर–११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरु थिए । प्रशासकीय अधिकृत–११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरु थिए ।
जनप्रतिनिधिको टिम कप्तान भएपनि मेयर बालेन खेलको उत्तर्राद्धमा मात्रै मैदानमा छिरेका थिए तर मेयर बालेन मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो ।
मैत्रीपूर्ण फुटबल खेलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपमेयर सुनिता डंगोलले मैत्रीपूर्ण फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धमा आईसब्रेक गर्ने काम गरेको बताउनु भएको छ ।
उहाँले महानगरमा जनप्रतिनिधि भएर आएको ६ महिना बढी हुँदा पनि सबै कर्मचारीहरुसँग प्रत्यक्ष रूपमा सम्बन्ध कायम हुन नसकेको तर महानगर दिवसको अवसरमा भएको जनप्रतिनिधि र कर्मचारी बीचको मैत्रीपूर्ण फुटबल खेलले सम्बन्ध सुधार गर्ने काम गरेको बताउनु भयो ।
उहाँले जनप्रतिनिधिहरु खेल हारेपनि फुटबल आयोजनाको उद्देश्य अनरुप पूरा भएको बताउनु भयो । उपमेयर डंगोलले महानगर पालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको सम्बन्ध राम्रो बनाउनको लागि फुटबल आयोजना गरिएकाले त्यो सफल भएको बताउनुभयो ।