हेटौंडा – १ नकौंलीका गर्भवति महिलाहरुलाई पोषण सामग्री वितरण

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ नकौंलीका गर्भवति महिलाहरुलाई पोषण सामग्री वितरण गरिएको छ । स्वास्थ्य चौंकिमा नियमित स्वास्थ्य जाँच गरी रहेका गर्भवती महिलाहरुलाई मंगलबार पोषण सामग्री वितरण गरिएको हो ।

तीन वर्षदेखि संघीय सरकारबाट प्राप्त ‘पोषण सम्वेदनशील कार्यक्रम’ को कोशेलीसहित हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा नकौंली पुग्नु भएको छ । गर्भवति अवस्थामा अपनाउनु पर्ने सुरक्षा र पोषणयुक्त खानाको बारेमा जानकारी दिने उद्देश्यसहित पोषण सामग्री वितरण गरिएको हो ।नकौंली स्वास्थ्य चौंकी पुगेर नियमित गर्भ जाँच गरि रहेका १३ जना गर्भवतीलाई भेट्दै मेयर लामाले गर्भवती अवस्थामा ख्याल गर्नुपर्ने कुराको बारेमा जानकारी गराउँदै आफु र आफ्नो बच्चाको ख्याल गर्न आग्रह गर्नुभएको छ । उहाँले गर्भवतीलाई पोषयुक्त खानेकुरा घ्यू, काँचो बदाम, अण्डा, दालसहित न्यानो कपडा हस्तान्तरण गर्नुभएको हो ।

सामग्री हस्तान्तर गर्दै नगर प्रमुख लामाले नियमित स्वास्थ्य परिक्षण गरी स्वास्थ्य संस्थामै पुगेर बच्चा जन्माउन सबैलाई आग्रह गर्नुभएको छ । कार्यक्रममा उहाँले गाउँमा महिलाहरुलाई परेको समस्याको बारेमा जानकारी गराएमा समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले सुत्केरी भएपछि आयमुलक काममा जोडेर दैनिक वा मासिक आम्दानीको श्रोत पहिचान गर्न उपमहानगरपालिका सहयोगी बन्ने बताउनुभयो । नकौंलीमा नियमित स्वास्थ्य संस्था सञ्चालनको लागि आवश्यक पुर्वाधार निर्माणमा उपमहानगरले काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

खानेपानीको अभाबका कारण महिनामा एक पटक मात्र सेवा दिँदै आएको चौकिबाट आगामी दिनमा नियमित सेवा प्रदान गरिने स्पष्ट पार्नुभयो । स्वास्थ्यमा देखिएको सामान्य समस्या लिएर समय खर्च गर्दै बजारसम्म जानुपर्ने बाध्यतालाई हटाउनका लागि पुर्वाधार सम्पन्न स्वास्थ्य चौकी छिटो संचालन हुने उहाँले बताउनुभयो । उपमहानगर भएर पनि सडक सुबिधाबाट समस्यामा रहेका नकौली बासीलाई सहज सडक सञ्जालसँग जोड्नका लागि केन्द्र सरकारले ९७ लाख रुपैयाँ बजेट दिएको भन्दै अब सडक निर्माण हुने आश्वासन दिनुभयो ।

सामग्री हस्तान्तरण कार्यक्रममा हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपाने, कार्यपालिका सदस्य इश्वरी रसाईली, हेटौंडा–१ का वडा सदस्य मनु दाहाल, उपमहानगरपालिका जन स्वास्थ्य अधिकृत भोला चौलागाईको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*