विश्वकप फुटबलमा आज उपाधिसँगै उत्कृष्ट खेलाडीहरूको छिनोफानो हुँदै

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल आज आइतबारबाट सकिँदैछ । एशियामा दोस्रो पटक तथा अरब राष्ट्रमा पहिलो पटक भएको विश्वकपले विश्व फुटबलमा नयाँ च्याम्पियन मात्रै बनाउँदै छैन, विधागत रुपले पनि केही खेलाडीलाई विश्वकै सर्वोत्कृष्ट खेलाडीको दर्जा दिँदैछ ।

कतारको दोहास्थित लुजेल रंगशालामा आइतबार हुने विश्वकपको फाइनल खेलपछि अर्जेन्टिना वा फ्रान्स मध्ये एक टोली विश्व फुटबलको च्याम्पियन बन्दैछ । यो खेलले विश्वकपका केही उत्कृष्ट खेलाडीहरुको पनि छिनोफानो गराउँदैछ । विश्वकप फुटबलमा सर्वाधिक गोल गर्नेलाई गोल्डेन बुट, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई गोल्डेन बल, उत्कृष्ट गोलरक्षकलाई गोल्डेन ग्लोभ्स तथा युवा खेलाडीलाई योङ प्लेअर अवार्ड दिने प्रचलन छ ।

प्रतियोगिताभरी सबैभन्दा धेरै गोल गर्ने खेलाडीले पाउने गोल्डेन बुटका लागि अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका किलियन एम्बाप्पे मुख्य दाबेदार रहेका छन् । यी दुवै खेलाडीले अहिलेसम्म ५–५ गोल गरेका छन् । उनीहरुलाई पछ्याईरहेका अर्जेन्टिनाकै जुलियन अल्भारेज र फ्रान्सका ओलिभर जिरुको नाममा ४–४ गोल रहेको छ । यी चारै जना खेलाडी आइतबारको फाइनलमा उपलब्ध हुने छन् । त्यसैले उनीहरु मध्यबाटै एक जनाले गोल्डन बुट जित्ने सम्भावना उच्च छ । दुई वा सो भन्दा बढी खेलाडीले समान गोल गरेको अवस्थामा गोल गर्न गरेको सहयोग अर्थात असिस्टको आधारमा विजेताको छिनोफानो गरिनेछ ।

विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिइने गोल्डेन बल अवार्डमा पनि मेस्सीकै मुख्य दाबेदारी छ । मेस्सीले गोल्डन बुट जित्न नसके गोल्डेन बल हात पार्ने फुटबल पण्डितहरुको अनुमान छ । मेस्सीबाहेक एमबाप्पेलाई पनि गोल्डेन बलको हकदार मानिएको छ । यो दौडमा क्रोएसियाको लुका मोड्रिच, फ्रान्सका एन्टोनी ग्रिजम्यान र मोरक्कोको अच्रफ हकिमी पनि अगाडि रहेका छन् ।

विश्वकपमा उत्कृष्ट गोलरक्षकलाई दिइने गोल्डेन ग्लोभ्स अवार्डको लागि सेमिफाइनलमा पुग्ने चार वटै टोलीका गोलरक्षकबीच कडा टक्कर छ । अर्जेन्टिनाका इमी मार्टिनेज, फ्रान्सका ह्युगो लोरिस, मोरक्कोका यासिन बोनो र क्रोएसियाका डोमिनिक लिभाकोभिच मध्ये एक खेलाडीले यो उपाधि जित्ने प्रवल सम्भावना रहेको छ । मार्टिनेज, बोनो र लिभाकोभिचले विश्वकपको दौरान पेनाल्टी सुटआउटमा आ-आफ्नो टोलीलाई जिताएका छन् ।

यसपटक युवा खेलाडीको उत्कृष्ट अवार्डको लागि पनि कडा टक्कर देखिएको छ । क्रोएसियाका २० वर्षीय डिफेन्डर जोस्को भार्डियोल, अर्जेन्टिनाका २१ वर्षीय मिडफिल्डर इन्जो फर्नान्डेज, फ्रान्सका २२ वर्षीय मिडफिल्डर औरेलिन चुवामेनी र २० वर्षीय मिडफिल्डर कामाभिंगा तथा मोरक्कोका २२ वर्षीय मिडफिल्डर अजेडीन उनाहीलाई उत्कृष्ट युवा खेलाडीको मुख्य दाबेदार मानिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*