हेटौंडा–११ बाट मिठाई बेच्ने दुई बालश्रमिकको उद्दार

हेटौंडा । सिविन बाल हेल्पलाइनले हेटौंडा–११, थानाभर्याङमा मिठाई बेच्ने दुई जना बालश्रमिकलाई उद्दार गरेको छ । रौतहटका भोगेन्द्र दासका छोरा १४ वर्षीय राम दास र सरोज माझीका छोरा १२ वर्षीय अभिषेक माझीलाई शुक्रबार उद्दार गरी आइतबार अभिभावकलाई जिम्मा लगाइएको छ ।

सिविन बाल हेल्पलाइन हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, श्रम तथा रोजगार कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिकाको प्रतिनिधिको उपस्थितिमा बैठक बसेर बालश्रम गर्ने बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको हो । बालकहरु मंसिर १ गते नै काम गर्ने भनेर घर छाडेर हिँडेको अभिभावकले जानकारी दिएका छन् । अभिभावकका अनुसार बालकहरु घर बस्न नमान्ने र विद्यालय जान पनि नमानेपछि आर्थिक अवस्था कमजोर भएको कारण काम गर्न घर छाडेका थिए ।

बालश्रममा लगाउने व्यवसायी ज्ञानकिशोर भण्डारीका अनुसार बालकहरु भर्खरैमात्र काम गर्न सुरु गरेका थिए । व्यवसायीले मिठाई बनाएर बालकहरुलाई बजारमा बिक्री गर्न पठाउने गरेको बताइएको छ । बैठकमा बालकहरुलाई हालसम्म काम गरेको समयको आधारमा व्यवसायीमार्फत् पारिश्रमिक उपलब्ध गराइएको छ ।

घुमन्ते व्यापारीको रुपमा एक महिना काम गर्ने अभिषेकलाई ५ हजार रुपैयाँ र १५ दिनमात्रै काम गरेका राम दासलाई २ हजार ५ सय रुपैयाँ उपलब्ध गराइएको छ । छलफलमा व्यवसायी भण्डारीले आगामी दिनमा बालबालिकालाई बालश्रममा नलगाउने र बालमैत्री अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै, बालकहरुको अभिभावकलाई पनि घर लगेर विद्यालय पठाउने प्रतिबद्धता गराइएको छ ।

छलफलमा श्रम तथा रोजगार कार्यालयका निमित्त प्रमुख भीमप्रसाद शर्मा, सिविन बाल हेल्पलाइनका झविन्द्र ज्ञवाली, जिल्ला प्रहरी कार्यालयका श्रीकृष्ण भण्डारी, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी सुनगाभा लामा, हेटौंडा उपमहानगरपालिकाकी निर्मला दाहाललगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*