रक्तसञ्चार केन्द्र हेटौंडामा “ओ” र “बी” समूहको रगत अभाव

हेटौंडा । रक्तसञ्चार केन्द्र हेटौंडामा “ओ” र “बी” समूहको रगत अभाव भएको छ । हाल हेटौंडामा “बी” समूहको रगतको माग बढी रहेको केन्द्रका प्राविधिक विष्णुप्रसाद रिमालले जानकारी दिनुभयो ।

रगत अभावको समयमा रक्तसञ्चार केन्द्र हेटौंडाले कल गरेर रगतदानका लागि आह्वान गर्ने गरेको उहाँले बताउनुभयो । हाल केन्द्रमा एक सय जना नियमित रक्तदाताहरु रहेको उहाँले जानकारी दिनुभयो । केन्द्रका प्राविधिक रिमालले भन्नुभयो, “रगत भनेको जुनसुकै समयमा पनि आवश्यक पर्न सक्छ । त्यस्तो समयमा हामी केन्द्रबाट फोन गरेर रगतदान गर्न आह्वान गर्छौं । हामीसँग एक सय जना नियमित रक्तदाताहरु हुनुहुन्छ ।”

हेटौंडामा संकलन भएको रगत मकवानपुर र चितवनका विभिन्न अस्पतालहरुमा पठाउने गरेको उहाँले बताउनुभयो । रगतको माग धेरै भएको भन्दै उहाँले रगत अभावका कारण रगत दिन नसकेको जानकारी दिनुभयो । रिमालका अनुसार मकवानपुरमा दैनिक १५ पाउण्ड रगत आवश्यक पर्छ । नियमितरुपमा विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रम आयोजना गर्दा रगत संकलनमा सहज हुने उहाँले बताउनुभयो ।

मकवानपुरमा मंसिर महिनामा २ सय ६९ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र हेटौंडाको तथ्याङ्कअनुसार मंसिर महिनामा २ सय ३६ जना पुरुष र ३० जना महिला गरी २ सय ६९ जनाले रक्तदान गरेका हुन् । कात्तिक महिनामा विभिन्न ६ वटा संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ९३ जना पुरुष र २६ जना महिला गरी २ सय १९ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक रिमालले जानकारी दिनुभएको छ । मंसिर महिनामा रक्तसञ्चार केन्द्रको कार्यालयमा पुगेर ४३ जना पुरुष र ७ जना महिला गरी ५० जनाले रक्तदान गरेको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*