हेटौंडा उपमहानगर क्षेत्रका विद्यालयमा अर्धवार्षिक परीक्षा सुरु

हेटौंडा –  हेटौंडा उपमहानगर क्षेत्रका सामुदायिक विद्यालयहरुले चालु शैक्षिक सत्रको अर्धवार्षिक परीक्षा आज आइतबारबाट सुरु गरेको छ । विद्यालयहरुले दुई सिफ्टमा परीक्षा सञ्चालन गरिरहेका छन् । उपमहानगरको शैक्षिक पात्रोअनुसार नै परीक्षा सञ्चालन भएको हो ।

अर्ध वार्षिक परीक्षाका लागि नगरस्तरीय शैक्षिक समन्वय समितिमा आवद्ध ३७ वटा विद्यालयले प्रश्नपत्र, उत्तरपुस्तिका परीक्षण र नतीजा प्रकाशन लगायतका कार्यमा एकरुपता कायम गर्ने प्रयास गरिएको छ भने बाँकी विद्यालयले आन्तरिक रुपमै परीक्षा सञ्चालन गरेका छन् । हेटौंडा उपमहानगर क्षेत्रमा ७१ वटा सामुदायिक विद्यालय सञ्चालित छन् ।

नगरस्तरीय शैक्षिक समन्वय समितिका संयोजक सागरप्रसाद खतिवडाका अनुसार ३७ वटा विद्यालयमा अर्धवार्षिक परीक्षामा कक्षा ४ देखि १० सम्मका ७ हजार ५ सय ३७ जना विद्यार्थी सहभागी हुँदैछन् । नगरस्तरीय शैक्षिक समन्वय समितिले बिहान ११ बजेदेखि दिनको १ बजेसम्म कक्षा ४, ५, ६ र ९ को परीक्षा सञ्चालन गरेको छ भने कक्षा ७, ८ र १० को परीक्षा दिनको २ बजदेखि ४ बजेसम्म सञ्चालन गरेको छ । प्रथम त्रैमासिक परीक्षा गत भदौ अन्तिममा सुरु गरेर असोज अन्तिममा सम्पन्न गरेको थियो । नगरस्तरीय शैक्षिक समन्वय समितिले प्रथम त्रैमासिक र अर्धवार्षिक परीक्षा ५०/५० पूर्णाङ्कको लिएको छ ।

प्रारम्भिक बाल विकास कक्षादेखि कक्षा ३ सम्म आन्तरिक मूल्यांकनका आधारमा कक्षोन्नतिको नीति लिइएको छ । नगरस्तरीय शैक्षिक समन्वय समितिमा आवद्ध नभई आन्तरिक व्यवस्थापनमै परीक्षा सञ्चालन गरिरहेको हेटौंडा–४, कर्रास्थित श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहालले एक सय पूर्णाङ्ककै परीक्षा लिइएको जानकारी दिनुभयो । बिहान र दिउँसो दुई सिफ्टमा परीक्षा सञ्चालन गरिएको उहाँको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*