हेटौंडा उपमहानगरद्वारा दुई बालिकाको उद्दार

हेटौंडा । प्लास्टिकका भाँडा विक्री गर्दै हिँडेका दुई बालिकालाई हेटौंडा उपमहानगरपालिकाले सोमबार उद्दार गरेको छ । सोमबार बिहान साढे ९ बजेको समयमा हेटौंडा–५, सानोपोखराचोकमा प्लास्टिकका भाँडा विक्री गर्न हिँडेका १० र १३ वर्षका दुई बालिकालाई उपमहानगरपालिकाले उद्दार गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखाकी प्रमुख विष्णुकु्मारी लामिछानेले नै दुई बालिकालाई श्रममा सहभागी भएको देख्नुभएपछि उद्दारको प्रयास गरिएको हो । सिविन बालहेल्पलाइन हेटौंडाको सहयोगमा हेटौंडा उपमहानगरपालिकाले दुई बालिकालाई उद्दार गरेको हो । उद्दार गरिएका बालिकालाई आवश्यक परामर्श गरी अभिभावकको जिम्मा लगाइएको सिविन बालहेल्पलाइन हेटौंडाका प्रमुख झविन्द्र ज्ञवालीले जानकारी दिनुभएको छ ।

उद्दार गरिएका बालिकाका अभिभावकलाई आवश्यक परामर्श गरी उनीहरुलाई श्रममा नलगाई सम्भव भएसम्म विद्यालय पठाउन आग्रह गरिएको र आज मंगलबार थप छलफल गरिने ज्ञवालीले बताउनुभएको छ । उद्दार गरिएका दुई बालिकालाई सिविन बालहेल्पलाइनको कार्यालयमै राखेर परामर्श गर्नुका साथै आइतबार साँझ दुबै बालिकाको आमा र दाईलाई आवश्यक परामर्श गरिएको थियो ।

भारतको उत्तरप्रदेशका नागरिक हेटौंडा–९, लामसुरेमा डेरा गरी बस्ने गरेको र गाउँ–बस्ती डुलेर प्लास्टिकका भाँडा बिक्री गर्ने गरेको र अभिभावककै योजनामा बालिकाहरु पनि प्लास्टिकका भाँडाको व्यापारमा व्यस्त रहने गरेको पाइएको झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिका बालमैत्री पालिका घोषणा गर्ने तयारी भइरहेका बेला श्रममा रहेका बालिकाको उद्दार गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*