अधिकारकर्मी जमुना तितुङको निधन

हेटौंडा । अपाङ्ता भएकाहरुको अधिकारका लागि क्रियाशील हेटौंडा–७ की जमुना तितुङको मंगलबार निधन भएको छ । श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि चितवन जिल्लाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा जमुनाको मंगलबार दिउँसो ४ बजे निधन भएको हो । तितुङको निधनको खबरले अधिकारकर्मी, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीले दुख व्यक्त गरेका छन् ।

जन्मजात होचो कदकी ३६ वर्षीया तितुङको स्वासप्रश्वाससम्बन्धी समस्या थियो । आइतबार स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि हेटौंडा अस्पताल पुग्नुभएकी जमुनालाई आइतबारै भरतपुर रिफर गरिएको थियो । स्वासप्रश्वासमा समस्या भएर अक्सिजनको तह न्यून अवस्थामा पुगेपछि सोमबार राती नै तितुङको अवस्था गम्भीर भएको थियो । राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश कार्यालयकी सीता मल्ल ठकुरीले मंगलबार साँझ उपचारको क्रममा तितुङको मृत्यु भएको जानकारी दिनुभयो ।

राष्ट्रिय अपाङ महासंघकी पूर्व केन्द्रीय सदस्य हुनुहुन्थ्यो । राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश समितिकी सल्लाहकार तितुङ हेटौंडा उपमहानगरपालिकाको अपाङ्गतासम्बन्धी स्थानीय समितिको सदस्य तथा नगरस्तरीय महिला जागरण समितिकी कोषाध्यक्ष हुनुहुथ्यो ।
अविवाहित तितुङ २०७१ सालदेखि हेटौंडा–२ स्थित सिद्धार्थ माविमा प्राथमिक तहको राहत शिक्षकको दरबन्दीमा नियुक्त हुनुभई काजमा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरमा अपाङ्गता लेखाजोखा समितिकी संयोजक हुनुहुन्थ्यो । तितुङको पार्थिव शरीर मंगलबार नै हेटौंडा–७ स्थित घरमै ल्याएर लामा विधिद्वारा अन्तिम संस्कारअघि गर्नुपर्ने कर्म गरिने बताइएको छ । बुधबार बिहान अन्तिम संस्कारको कार्य गरिने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*