पोखरामा जलेर गम्भीर घाइते भएकी महिलाको मृत्यु

पोखरा । पोखरामा आइतबार जलेर गम्भीर घाइते भएकी ३५ वर्षकी संगीता सापकोटाको उपचारको क्रममा मृत्यु भएको छ ।

पोखरा महानगर–१३, काहुँखोलामा आइतबार बिहान एक पुरुष र महिला जल्दै गरेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए । सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार बिहान ५ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा। भरतबहादुर खत्रीले जानकारी दिए । सोही घटनामा जलेर घाइते भएका ४५ वर्षका कृष्णबहादुर क्षेत्रीको भने उपचार भइरहेको छ ।

क्षेत्री सापकोटाको घरमा डेरामा बस्दै आएका थिए । प्रहरीले प्रारम्भिक अनुसन्धानमा क्षेत्रीले पेट्रोल छर्केर आगो लगाउने प्रयास गर्दै गर्दा घरबेटी सापकोटाले बचाउन खोज्दा घाइते भएको देखिएको बताएको छ ।

‘हाम्रो प्रारम्भिक अनुसन्धानले अहिलेसम्म त्यही देखाएको छ । बचाउन जाँदा नै जलेको भन्ने देखिएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘तर, हामी विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*