विद्यालयलाई धुमपान र मद्यपान निषेधित क्षेत्र बनाउन सुरु

हेटौंडा । बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि विद्यालयलाई सुर्तीजन्य, मद्यपान र धुमपान निषेधित क्षेत्र बनाउन सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले २०८० साल मंसिर महिनाभित्र बालमैत्री स्थानीय शासन घोषणाको तयारी थालेपछि विद्यालयहरु सुर्तीजन्य, मद्यपान र धुमपान निषेधित क्षेत्र बन्न थालेको हो ।

“बालबालिकामा गरेको लगानी ल्याउँछ सुनौलो बिहानी” भन्दै विद्यालयलाई सुर्तीजन्य, मद्यपान र धुमपान निषेधित क्षेत्र घोषणा गरिएको छ । विद्यालयको वरिपरि १०० मिटरको दुरीभित्र सुर्तीजन्य, मद्यपान र धुमपानजस्ता वस्तुहरु बिक्रीवितरण नगर्न आग्रह गर्दै विद्यालयलाई निषेधित क्षेत्र घोषण गरेका हुन् ।
हेटौंडा उपमहानगरभित्र रहेका केही विद्यालयले मात्र विद्यालयलाई सुर्तीजन्य, मद्यपान र धुमपान निषेधित क्षेत्र बनाइएका छन् । केही महिनाअघि हेटौंडा उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई निषेधित क्षेत्रको बोर्ड राख्न आग्रह गरेको थियो ।

उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले विद्यालयहरुले सम्पन्न गर्नुपर्ने विभिन्न कार्यहरुको बारेमा लिखित निर्देशन दिएको भए पनि केही विद्यालयले ती निर्देशनको पालनामा तदारुकता देखाएको पाइएको छैन । हेटौंडा-५ स्थित लक्ष्मी आधारभूत विद्यालय, हेटौंडा(५ कै बालज्योति माध्यमिक विद्यालय, हेटौंडा-१६, हटियास्थित त्रिभुवन माध्यमिक विद्यालयले बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि विद्यालयलाई उक्त क्षेत्रबाट निषेध गरेको छ ।

हेटौंडा-१६ कै आकाशधारा पानीसारा आधारभूत विद्यालय, हेटौंडा-१५, फायरलाइनस्थित वनदेवी आधारभूत विद्यालयलाई सुर्तीजन्य, मद्यपान र धुमपान निषेधित क्षेत्र घोषणा गरिएको छ । हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रामचन्द्र खड्काका अनुसार हेटौंडा-१६, शक्तिखोलास्थित बीपी आधारभूत विद्यालय, हेटौंडा-६, गौरीटारस्थित बालजागृति युवावर्ष माध्यमिक विद्यालयले पनि विद्यालयलाई सुर्तीजन्य, मद्यपान र धुमपान निषेधित क्षेत्रको बोर्ड टाँसेका छन् ।

हेटौंडा-१० स्थित ज्ञानदा माध्यमिक विद्यालय, हेटौंडा-१४, मयूरधापस्थित जनज्योति माध्यमिक विद्यालय, दिव्यज्योति आधारभूत विद्यालय, हेटौंडा-१२ को तल्लो रमनटारस्थित ब्रम्हदेवी आधारभूत विद्यालय, हेटौंडा-४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालय, हेटौंडा-१४, बदेलधापस्थित सुप्रभात आधारभूत विद्यालयलाई सुर्तीजन्य, मद्यपान र धुमपान निषेधित घोषण गरिएको छ । केही विद्यालयहरुले बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि तिव्र रुपमा विद्यालयलाई बालमैत्री बनाउन सुरु गरिएको उहाँको भनाइ छ ।

विद्यालयको एक सय मिटर वरपर खुलेआम सुर्तीजन्य तथा मादक पदार्थ बिक्रीवितरण भइरहेको भन्दै उपमहानगरले अनुगमनसमेत गर्ने जनाएको थिए । जसले गर्दा विद्यालयलाई उपमहानगरले विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ निषेधित क्षेत्र बनाउन आग्रह गरेका हुन् । विद्यार्थीलाई सुर्तीजन्य र मादक पदार्थको लतबाट टाढा राख्नका लागि विद्यालय क्षेत्र आसपासमा सञ्चालनमा रहेका होटल तथा किराना पसलमा सुर्तीजन्य पदार्थ तथा मदिरा नराख्न आग्रह गरिएको छ । सोहीअनुरुप उपमहानगरले १८ वर्षभन्दा मुनिका कुनैपनि बालबालिकालाई अभिभावकहरुले समेत सुर्तीजन्य तथा मादक पदार्थ खरिद गर्न प्रयोग नगर्न आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*