मकवानपुर गोल्डकपको तयारी अन्तिम चरणमा पुग्यो

हेटौंडा । मकवानपुरको हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा २८ माघदेखि सुरु हुने पाँचौ संस्करणको ‘स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

बिहीबार खेल मैदानमा पत्रकार सम्मेलन गर्दै आयोजक जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामाले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले शनिबारबाट सुरु हुने गोल्डकपमा ७ वटा ए डिभिजन र एक अन्तराष्ट्रिय क्लबसहित १२ टिमको सहभागिता रहने बताए ।

प्रतियोगितामा आयोजक मकवानपुर-११, नव जनजागृती युवा क्लब सिमरा, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल एपिएफ क्लब, सातदोबाटो क्लब ललितपुर, मनाङ् मस्र्याङ्दी क्लब काठमाडौं, फ्रेण्ड्स क्लब ललिततपुर, हिमालयन शेर्पा क्लब काठमाडौं, एनआरटी क्लब काठमाडौं, बागमती युवा क्लव सर्लाही, विरगंज युनाइटेड पर्सा, र एभिनियर एफसी क्यामरुनको सहभगिता रहेको छ ।

प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष लामाले बताए । उनका अनुसार प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड ९बुलेट० मोटरसाइकल पाउने छन् । त्यसका लागि अघिल्लो दुई संस्करणमा झैं यस वर्ष पनि हेटौंडा स्कूल अफ म्यानेजमेण्ट एण्ड सोसियल साइन्सेसले प्रायोजन गरेको छ । प्रतियोगितामा विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

शनिबारबाट सुरु हुने प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाको मेयर मीनाकुमारी लामाले गर्ने कार्यक्रम तय भएको र प्रतियोगिताको समापन फागुन १० गने एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आउने तय भएको आयोजकले जनाएको छ ।

जिल्लाको १० वटै स्थानीय तहहरुको आर्थिक सहयोगमा फुटबल संघले सहिद स्मृति गोल्डकप आयोजना गर्दै आएको छ ।

२०६२–०६३ को जनआन्दोलनका सहिदहरुको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना फुटबल संघले गरेको थियो । उक्त पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*